काठमाडौं । पर्वतको जलजला गाउँपालिका–२, मल्लाज दह गाउँका दम्पती हत्या घटनाका २ आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। सीआईबीका प्रवक्ता होबीन्द्र बोगटीका अनुसार म्याग्दीका कृष्ण विक र दीपक परियारलाई पक्राउ गरिएको हो।
गत चैत १९ गते धारिलो हतियार प्रहार गरी पर्वत दह गाउँका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो। हत्याराले उनीहरूका गरगहना पनि लुटेका थिए।
हत्यालगत्तै जिल्ला प्रहरी कार्यालय पर्वत, गण्डकी प्रदेश प्रहरी कार्यालय र संघीय प्रहरी एकाइबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको थियो। त्यस क्रममा झन्डै एक महिनापछि प्रहरी आरोपित २ जनालाई पक्राउ गर्न सफल भएको हो।
प्रकाशित मितिः २०८१ बैशाख १८ मंगलबार
Comments