काठमाडौं । बलिउडमा दुई चलचित्र ‘पंगा’ र ‘स्ट्रिट डान्सर’ एकसाथ रिलिज भएका छन्। आफ्नो उत्कृष्ट अभिनयबाट ‘बलिउड क्वीन’को पहिचान बनाएकी कंगना रनौटको चलचित्र ‘पंगा’ र वरुण धवनको अभिनय रहेको चलचित्र ‘स्ट्रिट डान्सर’ शुक्रबारबाट रिलिज भएका हुन्।
बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार ‘स्ट्रिट डान्सर’ भारतमा ३ हजार ७ सय र ओभर्सिजमा ६ सय ७० गरी कुल ४ हजार ३ सय ७० स्क्रिनमा रिलिज भएको छ।
यस्तै पंगा भने भारत र ओभर्सिज गरी कुल १ हजार ९ सय स्क्रिनमा मात्रै रिलिज भएको छ। पंगा भारतमा १ हजार ४ सय ५० र ओभर्सिजमा ४ सय ५० स्क्रिनमा रिलिज भएको आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।
रेमो डिसूजाको निर्देशनमा बनेको ‘स्ट्रिट डान्सर’मा बरुण धवनका साथै श्रद्धा कपूर, नोरा फतेही र प्रभुदेवा लगायतका कलाकारको अभिनय रहेको छ।
यस्तै अश्विनी अय्यर तिवारीको निर्देशनमा बनेको ‘पंगा’मा कंगनाका साथै जस्सी गिल, ऋचा चड्डा, नीना गुप्ता लगायतको अभिनय छ। ‘पंगा’को कथा विवाहपछि कबड्डीमा आफ्नो करियरलाई निरन्तरता दिन चाहने महिला खेलाडीको वरिपरी घुमेको छ।
दुवै चलचित्रले राम्रो रेटिङ पाएका छन्। बलिउड चलचित्र तथा व्यापार विश्लेषक तरण आदर्शले ‘स्ट्रिट डान्सर’लाई पाँचमा चार स्टार र ‘पंगा’लाई पाँचमा साढे तीन स्टार दिएका छन्। उनले दुवै चलचित्रको कथा वस्तु र कलाकारको अभिनयको तारिफ गरेका छन्।
यद्यपि जनवरी १० मा रिलिज भएको अजय देवगनको चलचित्र ‘तान्हाजी’ले अझै दर्शकहरुलाई हलसम्म तानिरहेको र ‘स्ट्रिट डान्सर’लाई पनि धेरै स्क्रिन उपलब्ध भएको हुँदा कंगनाको ‘पंगा’ यी दुई चलचित्रको चेपुवामा पर्नसक्ने विश्लेषण पनि गरिएको छ।एजेन्सी
प्रकाशित मितिः २०७६ माघ १० शुक्रबार
Comments