काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र धरौटीमा छुटे पनि दीपेश केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को निगरानीमा रहेका छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेर शुक्रबार धरौटीमा रिहा भए पनि अर्को मुद्दाको लागि प्रहरीले निगरानी गरिरहेको छ ।
सुन तस्करी प्रकरणमा समेत पुनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । तर, उनीविरुद्ध पक्राउ पुर्जी जारी नभएकाले तत्काल नियन्त्रणमा नलिइएको र निगरानी गरिरहेको सीआईबी दाबी छ । प्रहरी प्रधान कार्यालय स्रोत भने पुनले आफैँ हाजिर हुने बताएका छन् ।
सुन तस्करी प्रकरणमा समेत उनको शंकास्पद भूमिका देखिएकाले सीआईबीले निगरानीमा राखेको हो । ब्युरोका प्रमुख एआईजी श्याम ज्ञवालीले सुन तस्करी प्रकरणको अनुसन्धान जारी रहेको र उनको लिंकअफ देखिएको खण्डमा आवश्यक कदम चालिने बताए ।
उनले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगमा पुनको विषय उल्लेख भएको र यसैलाई आधार बनाएर अनुसन्धान अघि बढिरहेको बताए । पुन आजै रुपन्देही अदालतले मागेको ४ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
Comments