दुई खेलमा ‘स्पट फिक्सिङ’ गरेबापत आदिलले बुझेका थिए १२ लाख

0

काठमाडौं । राष्ट्रिय टोलीका सदस्य मोहमद आदिल आलमले दुई खेलमा ‘स्पट फिक्सिङ’ गरेबापत १२ लाख बुझेको खुलेको छ । आदिलसहित पूर्व राष्ट्रिय खेलाडी महबूब आलमलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उक्त तथ्य खुलाएको हो ।

महबूबले कम्तीमा २ नेपाली खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव गरेको खुलेको छ भने आदिल दुईवटा खेलमा फिक्सिङमा सामेल भएको पाइएको छ । सीआईबीका अनुसार आदिललाई एक खेलमा एउटा नो बल र एउटा वाइड फाल्न लगाइएको थियो । उनले खेलेका कम्तीमा दुई खेलमा सोही प्रकृतिको खेल देखिएको सीआईबीले जानकारी दिएको छ ।

सीआईबी स्रोतका अनुसार २६ डिसेम्बरमा भएको काठमाडौं भर्सेस जनकपुर (म्याच ८) र २९ डिसेम्बरमा भएको जनकपुर भर्सेस फार वेस्ट (म्याच १२) मा आदिलले स्पट फिक्सिङ गरेको खुलेको छ । उनले एक खेलमा एउटा नो बल र एउटा वाइड फालेबापत ६ लाख बुझेको पाइएको छ । दुई खेलमा गरी उनले १२ लाख बुझेको प्रहरीले जनाएको छ ।

नेपाली खेलाडीलाई नेपाली व्यक्ति र विदेशी खेलाडीलाई व्यवस्थापन टीमकै सदस्यबाट फिक्सिङका लागि प्रस्ताव आएको पनि सीआईबीले जानकारी दिएको छ । ​टीम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले त एक इनिङमा पूर्वनिर्धारित रन मात्र बनाई स्पट फिक्सिङ गरेको खुलेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा रहेको 1xBat ले खेलकुदसँग सम्बन्धित समाचारका लागि पूर्वानुमान गर्नका लागि भरपर्दो स्रोत भनेर दाबी गर्ने गरेको र निकट भविष्यमा क्रिकेट खेलसँग सम्बन्धित पोशाक तथा सामग्री उपलब्ध गराउने भनिए पनि अहिलेसम्म कुनै सामग्री उपलब्ध नभएको पनि सीआईबीले जानकारी दिएको छ ।

केही फ्रेन्चाइज टीमको आर्थिक स्रोत र खेलाडीलाई दिने पारिश्रमिकको स्रोत समेत नखुलेको पाइएको छ । हालै कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नेपाल टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली खेलाडीद्वय महबूब आलम र मोहमद आदिल आलमलाई प्रहरीले पक्राउ गरिसकेको छ । विदेशी खेलाडी भने आ-आफ्नो देश फर्किसकेका छन् ।

प्रकाशित मितिः २०७९ माघ १० मंगलबार

Comments

comments

Share.
Loading...

Comments