आर्यभन्ज्याङ–रामपुर सडक दुई दिनदेखि अवरुद्ध

0

पाल्पा । अविरल वर्षाले सडकमा पहिरो खसेपछि जिल्लाका मुख्य राजमार्ग र सहायक मार्गहरू अवरुद्ध बनेका छन् । जिल्लाको सहायक राजमार्गको रुपमा रहेको आर्यभन्ज्याङ–रामपुर सडकखण्ड दुई दिनदेखि अवरुद्ध बनेको छ । उक्त सडकखण्डको स्याफत, ताहुँलगायतका स्थानमा खसेको पहिरो हटाउन सकिएको छैन ।

भन्ज्याङ सडकमा खसेको पहिरोले दुई दिनदेखि सडक अबरुद्ध बनेको स्थानीय बासिन्दा पुरन शर्मा गैरेले बताए । सडक बन्द भएपछि उक्त सडकखण्ड भएर यात्रा गर्ने पूर्वखोला, निस्दी, रामपुर, रम्भाका स्थानीय बासिन्दा प्रभावित बनेका छन् ।

उनीहरू सदरमुकाम तानसेन, बुटवल, पोखरा जान तथा आउन समस्या परेको गैरेले बताएका छन् । दुई दिनदेखि अवरुद्ध बाटो खुलाउने प्रयास हालसम्म पनि नभएको उनले गुनासो गरेका छन् ।

उता बाँसटारी–झडेव सडकखण्डको विभिन्न स्थानमा खसेको पहिरोले बिहीबार साँझदेखि नै सडक अवरुद्ध बनेको छ । यस्तै ग्रामीण क्षेत्रमा जाने सडक समेत पहिरोका कारण अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग पनि बिहानदेखि पटक–पटक बन्द हुने र खुल्ने क्रम जारी छ । पानी पर्ने बित्तिकै सडकमा पहिरो खस्ने भएकाले यात्रा गर्दा सचेत भएर यात्रा गर्न पाल्पाका ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले यात्रुलाई आग्रह गरेका छन् ।

प्रकाशित मितिः २०७९ असोज २१ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments