चरिकोट । दोलखाको कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल भएको छ । कालीञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारको पहिलो चरणको परीक्षण सफल भएको हो ।
दोलखाली उद्योगीको लगानी रहेको केबुलकारमा चार वटा गोण्डला रहने र प्रत्येकमा १० जना बस्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ । मंसिरदेखि दिनदेखि औपचारिक रुपमा खुला गर्ने तयारीका साथ केबुलकार निर्माणको काम भइरहेको छ ।
२६ करोडमा केबुलकार निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण शुरु गरेको कम्पनीको लागत बढेर रु ४० करोड पुगेको कम्पनीले जनाएको छ । केबुलकारबाट कुरी बजार, गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमशृङ्खला लगायतका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ । धार्मिक पर्यटकीय क्षेत्र कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म ९०० मिटर लामो दूरीको केबुलकार निर्माण गरिएको हो ।
प्रकाशित मितिः २०७५ असोज १० बुधबार
Comments