काठमाडौं । नेपालविरुद्धको टी–२० क्रिकेट सिरिजको उपाधि एक खेलअगावै वेस्ट इन्डिज ‘ए’ ले कब्जा गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग २८ रनले पराजित भएको हो।
यससँगै लगातार ३ खेलमा पराजित भएको नेपालले सिरिज गुमाएको छ भने वेस्ट इन्डिजले ३-१ को अग्रता बनाएको छ । २१० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाल पूरै ओभर खेलेर १८१ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले भने उत्कृष्ट ब्याटिङ गरे ।
रोहितले ४७ बलमा ७ चौका र ५ छक्का मद्दतमा ८२ रन बनाए । दीपेन्द्रसिंह ऐरी, गुल्शन झा र सन्दीप जोराले १९/१९ रन जोडे । अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । यसअघि टस जितेर ब्याटिङको निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले पूरै ओभर खेलेर ३ विकेट क्षतिमा २०९ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले अर्धशतकीय पारी खेले। फ्लेचर ८३ रनमा अविजित रहे भने चार्ल्सले ३० बलमा ५८ रनको योगदान गरे। नेपालका लागि कुशल भूर्तेलले २ तथा प्रतिश जिसीले १ विकेट लिए। अन्तिम खेल शनिबार हुनेछ ।
प्रकाशित मितिः २०८१ बैशाख २० बिहिबार
Comments