कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न १२ अस्पताल छनोट
काठमाडौं । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न १२ वटा अस्पताल तोकेको छ ।
नेपालमै पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार सफल भएलगतै एनएचआरसीले देशभर यसलाई विस्तार गर्न लागेको हो । परिषद्का सदस्य सचिव प्रदीप ज्ञवालीका अनुसार सम्भाव्य अवलोकन क्लिनिकल स्टडीका लागि नौ सरकारी र तीन निजी अस्पताल छनोट गरिएको छ ।
सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल, पाटन, शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी र धुलिखेल अस्पताल छन् । निजीतर्फ मेडिसिटी, ह्याम्स र ग्राण्डी अस्पताल कन्भलेसेन्ट प्लाज्माथेरापीबाट उपचारका लागि छनोट गरिएको छ ।
सदस्य सचिव डा। ज्ञवालीका अनुसार दाता र रिसिभर दुबैको स्वेच्छाले मात्र यो विधिबाट उपचार गरिनेछ । दाता कोरोना संक्रमण भएर निको भएको, पछिल्लो १४ दिनसम्म कुनै लक्षण नदेखिएको र रक्तदानसम्बन्धी नेपाल रेडक्रस सोसाइटीको मापदण्ड पूरा भएको हुनुपर्नेछ ।
कन्भलेसेन्ट प्लाज्मा रिसिभर कोरोना संक्रमित, १८ वर्ष उमेर पुगेको र अस्पतालमा भर्ना भएको हुनुपर्नेछ । साथै स्वास्थ्य अस्वथा गम्भीर वा ज्यान जोखिममा पर्न सक्ने चिकित्सकको राय चाहिन्छ । उनले अघि भने, ‘अहिलेसम्म २५ दाताले प्रतिवद्धता जनाउनु भएको छ ।’
के हो प्लाज्मा थेरापी ?
प्लाज्मा थेरापी कुनै पनि रोगविरुद्धको प्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने अभ्यास हो ।
कुनै पनि बिरामीलाई प्रतिरोधी क्षमता बढाउन सक्ने प्लाज्मा दिँदा उसमा पनि रोग प्रतिरोधी क्षमता विकास हुने र थप शक्तिसँग बिरामीले रोगसँग लड्न सक्छ भन्ने मान्यता यो विधिमा छ ।यसको लागि एन्टिबडी विकास भएका मानिसको रगतबाट प्लाज्मा निकालिन्छ र त्यसलाई बिरामीको शरीरमा पठाइन्छ ।
यो विधिबाट बेलायत, भारतलगायतका मुलुकहरुमा कोरोना भाइरस (कोभिड–१९) का बिरमीको उपचारको प्रयास गरिएको थियो । उक्त उपचारको प्रयासमा केही सकारात्मक नतिजा आएको भए पनि यसले उत्साहजनक नतिजा भने दिन सकेको छैन । यो विधिले बिरामीलाई छिटो निको पार्न सहयोगी भूमिका मात्र निर्वाह गर्ने विशेषज्ञहरूले बताउँदै आएका छन् ।
प्रकाशित मितिः २०७७ साउन १९ सोमबार