यसवर्ष गाईजात्रा औपचारिकतामै सिमित गर्न भक्तपुर नपाको आग्रह
भक्तपुर । भक्तपुर नगरपालिकाले यसवर्ष गाईजात्रा (सापारु) पर्व औपचारिकतामै सिमित गर्न आग्रह गरेको छ ।
कोरोना भाइरस (कोभिड-१९) को महामारीको उच्च जोखिमप्रति संवेदनशील भई नगरपालिकाले गाईजात्रा औपचारिकतामा मात्र सिमित गर्न तथा घिन्ताङघिसी र परम्परागत एवं आधुनिक सांस्कृतिक प्रदर्शनी नगर्न समेत स्थानीयलाई आग्रह गरेको हो ।
ऐतिहासिक तथा सांस्कृतिक नगरी भक्तपुरमा साउन २० गतेदेखि २७ गतेसम्म मनाइने गाईजात्रा पर्वमा जम्मा हुनसक्ने हजारौं संख्याको भीडकै कारण कोरोना जोखिम बढ्न सक्ने अवस्थालाई र सरोकावाला संस्कृतिकर्मीहरुको नगरस्तरीय भेलाबाट प्राप्त राय सुझावअनुसार गाईजात्राका दिन औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र परम्परागत एवं आधुनिक साँस्कृतिक प्रदर्शनी नगर्ने नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
भक्तपुरमा जात्राका समयमा हुने सक्ने हुललाई मध्यनजर गर्दै भक्तपुर प्रहरीले शान्ति सुरक्षाको अवस्था मजबुद पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तारादेवी थापाले जानकारी दिइन् । उनले सबैमा जात्राका समयमा हुल नगर्न र जात्राका समयमा भिडभाडका कारण कोरोनाको जोखिम बढ्न सक्ने भएकाले सबैलाई जात्रा औपचारीकतामै सिमित गर्न समेत अनुरोध गरेकी छिन् ।
नगरपालिकाले प्रत्येक वर्ष गाईजात्राका दिन र यसपछिका ७ दिन सम्म देखाईने विभिन्न साँस्कृतिक देवि प्यांख तथा अन्य प्यांख र प्यांखको प्रतियोगिता समेत नगर्ने भएको छ । प्रत्येक वर्ष नगरपालिकाले परम्परागत प्यांख को बर्गीकरण गरि प्रतियोगिताको आयोजना गर्ने र उत्कृष्टलाई पुरस्कृत गर्ने व्यवस्था गर्दै आएको थियो ।
यसअघि नगरपालिकाले भक्तपुरको प्रसिद्ध विस्काः जात्रा, मातातिर्थ औंसी र देवाली पूजा पनि औपचारिकतामा मात्रै सिमित गरेको थियो ।
प्रकाशित मितिः २०७७ साउन १८ आइतबार