सरकारले गर्यो सार्वजनिक सवारी चल्न दिने निर्णय

भक्तपुर न्यूज

२५ असार २०७७ १२:३०

सरकारले गर्यो सार्वजनिक सवारी चल्न दिने निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र ट्याक्सी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । आज मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा काठमाडौंलगायत जिल्लाभित्र सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय गरिएको जानकारी दिइएको हो ।

उपत्यकाभित्र ट्याक्सीमा चालकसहित ३ जना मात्र यात्रा गर्न पाइने सरकारका प्रवक्ता युवराज खतिवडाले बताए । उनका अनुसार एकै परिवारका सदस्य भए एउटा ट्याक्सीमा ५ जनासम्म यात्रा गर्न पाइनेछ ।

यस्तै सरकारले सुरक्षाको मापदण्ड अपनाएर सार्वजनिक साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । उपत्यकाबाहिर पनि एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने गरी सवारी सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।

सार्वजनिक सवारीमा भौतिक दूरी कायम राखेर सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर सञ्चालन गर्न पाइने छ । सवारीमा सेनिटाइजर अनिवार्य गरिएको छ भने चालक र सहचालकले मास्क र ग्लोब लगाउनु पर्नेछ ।

सरकारले थोरै यात्रु भएका कारण सार्वजनिक सवारीले ५० प्रतिशतसम्म बढी भाडा उठाउन पाउने निर्णय समेत गरेको छ । सरकारले लामो र मध्यम दूरीका सवारी साधन चलाउनमा भने अझै रोक लगाएको छ ।

प्रकाशित मितिः २०७७ असार २५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *