भोलिदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । एसइई परीक्षा चैत ६ गते बिहीबार देखि सुरु भई १७ गतेसम्म सञ्चालन हुने छ ।
परीक्षा बोर्डका अनुसार केन्द्रबाट प्रश्नपत्र तयार गरी सातै प्रदेशका सबै परीक्षा केन्द्रमा पुर्याइसकेको छ । परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० का परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार यस वर्ष मुलुकभरबाट ४ लाख ८२ हजार ७०७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदै छन् । त्यस निम्ति १ हजार ९ सय ९५ परीक्षा केन्द्र तोकिएको छ ।
परीक्षामा प्राविधिक धारतर्फ नौ हजार ५०९ परीक्षार्थी सहभागी हुने भएका छन् । त्यस्तै कूल परीक्षार्थीमा ग्रेड वृद्धितर्फ १६ हजार २४२ र प्राविधिकतर्फ १३९ परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा धेरै परीक्षार्थी वाग्मतीबाट एक लाख तीन हजार ६६७ र थोरै कर्णाली प्रदेशबाट ३६ हजार ४३६ सहभागी हुने भएका छन् ।
परीक्षामा करीब ६५ हजार जनशक्ति परिचालन गरिने भएको छ । प्रत्येक परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष, २० विद्यार्थी बराबर एक निरीक्षक, १०० विद्यार्थी बराबर एक परीक्षा सहायक, ५० विद्यार्थी बराबर एक परिचारक खटाइएको छ । प्रत्येक परीक्षा केन्द्रमा १६ जनाका दरले सुरक्षाकर्मी खटाइने भएको छ ।
परीक्षा नियन्त्रक खकुरेलका अनुसार परीक्षा केन्द्रमा असम्बन्धित व्यक्तिलाई भीडभाड गर्न बन्देज लगाएको जानकारी दिँदै एउटा परीक्षा केन्द्रमा बढीमा ३ सय र एउटा कक्षा कोठामा २०–३० परीक्षार्थी राख्ने व्यवस्था गरिएको छ ।
कसैले परीक्षाको मर्यादा भङ्ग गर्ने वा बिथोल्ने काम गरे कानूनअनुसार छ महिना कैद वा रु एक लाख जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।
परीक्षाका समयमा विद्यार्थीमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर शिक्षा विज्ञान तथा प्रविधि र स्वास्थ्य मन्त्रालय एवं स्थानीय तहको समन्वयमा सहायता कक्ष ‘हेल्थ डेस्क’ स्थापना गरिने भएको छ ।
परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेक्स राख्ने व्यवस्था मिलाउन सात सय ५३ वटै स्थानीय तहलाई शिक्षा मन्त्रालयले अनुरोध गरेको छ ।
प्रकाशित मितिः २०७६ चैत्र ०५ बुधबार