ख्वप इन्जिनियरिङमा विशेष डिजिटल फोटोग्राफी तालिम समापन कार्यक्रम

भक्तपुर न्यूज

२ चैत २०७६ १०:५०

ख्वप इन्जिनियरिङमा विशेष डिजिटल फोटोग्राफी तालिम समापन कार्यक्रम

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा भएको १० दिने विशेष डिजिटल फोटोग्राफी तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम आइतबार कलेजको सभाहलमा सम्पन्न भयो ।

कार्यक्रममा आफ्नो मन्तव्य प्रस्तुत गर्दै भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले फोटो कुनै ठाउँ, विषय र व्यक्तिबारे इतिहास बताउने माध्यम भएको बताउदै फोटोलाई समाजको ऐनाको रुपमा व्याख्या गर्नुभयो । प्रशिक्षार्थीहरु आफूले सिकेको सीपको सही र नियमित प्रयोग गर्नु आवश्यक भएको उनले बताए ।

प्रमुख प्रजापतिले फोटोले दिने सन्देश समाजको निम्ति धेरै उपयोगी हुन्छ भन्दै फोटोले समाजको निम्ति राम्रो सन्देश पनि दिने बताए ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले तालिम अवधिभरमा सिकेको सीपलाई कलेजको उद्देश्य प्राप्तिको निम्ति प्रयोग गर्नुपर्ने बताउदै कलेजले भविष्यमा कलेजमा कार्यरत प्रशिक्षक र कर्मचारीहरुलाई आवश्यक तालिमको आयोजना गर्ने प्रतिबद्धता जनाए ।

त्यसैगरी ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले वर्तमान समयमा फोटोग्राफीको विकास उच्च तहमा पुगिसकेको बताउदै भक्तपुरका ऐतिहासिक सम्पदाहरुको फोटो अभिलेख राख्न यो फोटोग्राफी तालिमले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास प्रकट गरे ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य रबिन्द्र फोंजु, तालिमका स्रोत व्यक्ति शरद राई, कर्मचारी सञ्जय मानन्धर र तालिमका सहभागीहरुले पनि आ–आफ्नो अनुभव आदानप्रदान गरे । तालिमका प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई नगर प्रमुख प्रजापतिले प्रमाणपत्र वितरण गरे।

प्रकाशित मितिः २०७६ चैत्र ०२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *