ट्राफिक नियम उल्लंघन गर्ने २ हजार १ सय ७३ सवारी चालक कारबाहीमा
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार १ सय ७३ सवारी चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट मंगलबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।
कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय ७४ जना, लेन उल्लंघन गर्ने १ सय २१ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ३६ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ३१ जना, टिपर कारबाहीमा १४ जना, सिसिटिभीमार्फत कारबाही ३३ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने २ सय १३ जना, अनावश्यक हर्न बजाउने ५६ जना, ब्हील लकबाट ९७ जना र अन्य १ हजार ३ सय ९८ जना गरी जम्मा २ हजार १ सय ७३ सवारी चालक रहेका छन् ।
यसैगरी काठमाडौं उपत्यकामा मंगलबार ४९ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १ जनाले ज्यान गुमाएका छन् भने ३० जना सामान्य घाइते भएका छन् ।
महाशाखाका अनुसार मंगलबार १७ हजार ३ सय ४७ सवारी साधनबाट १ लाख ३ हजार २ सय ५२ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १५ हजार ७ सय २० सवारी साधनबाट ९४ हजार ६ सय ७१ जना यात्रु बाहिरिएका छन् ।
प्रकाशित मितिः २०७६ पौष ०९ बुधबार
