स्वास्थ्य क्षेत्रमा ब्यापक अनियमितताः स्वास्थ्य मन्त्री ढकाल
भक्तपुर । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रमा ब्यापक अनियमितता रहेको बताएका छन् ।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल मध्यपुर थिमिमा आज भएको विश्व अपांग दिवसका अवसरमा भएको कार्यक्रममा बोल्दै मन्त्री ढकालले स्वास्थ्य क्षेत्रको बजेट दुरुपयोग नौलो नभएको बताए ।
हरेक प्रकारका उपकरण र औषधिको खरिदमा हुने घोटाला अब नियन्त्रण गर्नु पर्ने बताउँदै उनले हरेक बर्ष सरकारले स्वास्थ्य क्षेत्रमा छुट्याएको रकमको दुरुपयोग हुने रोगलाई अव आफ्नो कार्यकालमा निरन्तरता नदिने समेत प्रतिवदता ब्यक्त गरे ।
नेपालको स्वास्थ्य क्षेत्रमा रहेका अधिक बिकृतिको अन्त्य आवश्यक रहेको भन्दै बिगतका गलत नजिरको समिक्षा मन्त्रालयले गरिरहेको उनले बताए ।
हरेक बर्ष खरिद गरिने उपकरण जनस्वास्थ्यलाई मध्यनजर गरि खरिद नभएको र कर्मचारीको आर्थिक आम्दानीको माध्यम मात्र बनेको उनको आरोप छ ।
औषधि महँगो भएकै कारण नेपालीहरुले रोगसँग प्रतिकार गर्न नसकेको भन्दै उनले सरकार आर्थिक अभावकै कारण नेपालीले अकालमा मृत्यवरण गर्नु नपरोस् भन्ने हेतुका साथ निःशुल्क स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउने लागि परेको बताए ।
नेपालमा बार्षिक बजेटको दुरुपयोग त गरिन्छ, गरिन्छ बिदेशी दाताहरुले उपलब्ध गराएको स्वास्थ्य रकममा समेत ब्यापक दुरुपयोग हुने गरेको उनले बताए । यसरी आएको बिदेशी सहयोगमा समेत कर्मचारीका लागि बिदेश भ्रमण र गोष्ठीमै सक्ने परिपाटीको अब अन्त्य गरिनु पर्ने उनले बताए ।
लामो समयदेखि बहसको बिषय बनेको सरकारी अस्पतालका डाक्टरको सेवाका बारे मन्त्रालयको समिक्षा बैठकमा उठेको भन्दै सरकारी अस्पतालका डाक्टरहरु १० बजे अस्पताल आउने र पाँच मिनेटमै हाजिर गरेर निजि क्लिनिक धाउने रोगलाई नियन्त्रण मात्र नभएर समाप्तै पार्ने उनले जानकारी दिए ।
कर्मचारी समायोजनको विषय सरकार र समितिले चलाएको अस्पतालमा समस्या रहेको र यसको समेत छिट्टै निराकरण गरिने उनले बताए ।
कार्यक्रमको सभापतित्व मध्यपुर नगरपालिकाका प्रमुख एवं नेपाल कोरीया मैत्री अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले गरेका थिए । उनले अपांगता भएका ब्यक्तिहरुको क्षमता पहिचान गरि उनीहरुलाई मौका प्रदान गर्नुपर्र्नमा जोड दिए ।
प्रकाशित मितिः २०७६ मंसिर १७ मंगलबार