काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता एवं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आज २३ औं स्मृति दिवस मनाइँदैछ ।आज सिंहको स्मृतिमा विभिन्न कार्यक्रम गरिँदैछ ।
यसै सन्दर्भमा गणेशमान सिंह फाउण्डेसनले शोभा भगवतीमा रहेको उनको प्रतिमामा माल्यार्पण सहितको कार्यक्रम आयोजना गरेको छ । qलौह पुरुषका नामले समेत चिनिएका उनको जन्म वि सं १९७२ सालमा र निधन ०५४ साल असोज २ गते अर्थात् आजैका दिन भएको थियो ।
सिंले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गरेका थिए । जेलबाट भागेर भारत पुगेका सिंहले वीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका थिए ।
२०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गरेका नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व सिंहले प्रजातन्त्रको पहरेदारी गर्न रुचाएका थिए ।
०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना र २०४७ को संविधान निर्माणपछि उनले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घच्घचाएका थिए । त्यसो नगरेसम्म राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि प्रजातन्त्र स्थीर र स्थायी नहुने उनको धारणा थियो ।
तर सिंहका ती कालजयी विचार र सुझावलाई विपक्षीले त मानेनन् मानेनन् आफ्नै दल नेपाली कांग्रेसले पनि सम्मान गरेन । जसका कारण विरक्तिएर जीवनको उत्तरार्धतिर उनले आफैंले स्थापना गरी हुर्काएको पार्टी परित्याग गरेको घोषणा समेत गरेका थिए ।
प्रकाशित मितिः २०७६ असोज २ बिहिबार
Comments