भक्तपुरमा सीबीआरका अपाङ्गता बालबालिकाको भबिष्य अन्यौलमा
भक्तपुर । भक्तपुरमा अपाङ्गता भएका बालबालिकाको भबिष्य अन्यौलमा राख्ने काम सरकारबाट भएको सरोकारवालाहरुले आरोप लगाएका छन् । सरकारबाट प्राप्त राहत शिक्षक अनुदान सुविधाबाट वंचित हुँदा अपाङ्गता भएका बालबालिकाको भबिष्य अन्यौलमा परेको उनीहरुले आरोप लगाएका हुन् । कोटा नै गायव भएपछि भक्तपुरस्थित समुदायमा आधारित पुनःस्थापना केन्द्र सीबीआरमा विशेष एवं समावेशी शिक्षा ग्रहण गरिरहेका अपाङ्गता भएका बालबालिकाको भबिष्य अन्यौलमा परेको हो ।
दुई वर्षदेखि शिक्षकको तलब सुविधा उपलब्ध हुन नसक्दा ती स्कुल बन्द गर्नुपर्ने अवस्था आएको सीबीआरले जनाएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट सात राहत शिक्षकको कोटा गायब हुनु र संघीयतामा माध्यमिक तहसम्मका शिक्षकहरुको जिम्मेवारी एवं दायित्व नगरपालिकामा सरेपछि सीबीआरको सात जना राहत शिक्षकको कोटा गायब भएको छ ।
सीबीआरले अपांगता भएकाको लागि भक्तपुरका दुई र मध्यपुर थिमी नगरमा एक गरी तीनवटा विशेष स्कुल सञ्चालन गर्दै आएको छ । उक्त स्कुलमा १५ बहिरा तथा ६३ बौद्धिक, अटिजम र बहुअपांगता भएका गरी ७८ जना अध्ययनरत छन् । सीबीआरले शिक्षा विभागबाट २०६१ साल र २०६३ मा एउटा–एउटा र २०६६ सालमा थप ६ वटा गरी आठ वटा प्राथमिक तहको राहत शिक्षकको कोटा प्राप्त गरेको थियो। उक्त कोटाकै एकजना शिक्षकको मृत्यु भएपछि सातमा झरेको थियो ।
परिवर्तित परिस्थितिमा तत्कालिन जिल्ला शिक्षा कार्यालयले स्थानीय तहमा विद्यालय शिक्षक अभिलेख दर्ता तथा हस्तान्तरण गर्दा यस संस्था अन्तर्गत कार्यरत शिक्षकहरुको अभिलेख समावेश नगरिएको गल्तिका कारणबाट स्थानीय तहमा अभिलेखिकरण हुन नसकेर शिक्षा विभागबाट प्राप्त राहत शिक्षक अनुदान सुविधाबाट वंचित हुन गएको उसको ठहर छ ।
सीबीआरका संस्थापक अध्यक्ष सूर्यभक्त प्रजापति भन्छन्, माध्यमिक तहसम्मका शिक्षकको जिम्मेवारी र दायित्व नगरपालिकामा गएसँगै आफूहरु भक्तपुर नपामा बुझ्न जाँदा सीबीआरमा कार्यरत शिक्षकको दरबन्दी गायब भएको जानकारी भयो ।
यसबारे तत्कालीन जिल्ला शिक्षा कार्यालयमा बुझ्न जाँदा भक्तपुर नगरपालिकामा सबै पठाएको जवाफ दिइए पनि भक्तपुर नगरपालिकामा बुझ्न जाँदा सीबीआर र यहाँ कार्यरत सातजना शिक्षक कुनै विवरण नै फेला नपरेको संचालक सदस्य शुरेश प्रधानको भनाई छ । त्यस पछि फेरि बुझ्न जाँदा जिल्ला शिक्षा कार्यालयले भक्तपुर नगरपालिकामा विवरण नगएको तर विभागबाटै सीबीआरका राहत शिक्षकको दरबन्दी खुलेर नआएको जवाफ दिएको थियो । फेरि शिक्षा विभाग जाँदा भक्तपुरमा रहेको ५९ राहत शिक्षक कोटाभित्रै सीबीआरका सात जनाको पनि विवरण रहेको प्रत्युत्तर दिएको सीबीआरका संयोजक रमेशराम श्रेष्ठले बताए ।‘तर विभागले भने अनुसार ५९ राहत शिक्षकको दरबन्दीमा शिक्षा कार्यालयको रेकर्डमा सीबीआरका सातजना कतै फेला परेन मात्र होइन कार्यालयमा राहत शिक्षकहरुको नियुक्तिसम्बन्धी कुनै फाइलसमेत फेला परेन।
सीबीआरको समस्याबारे शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई जानकारी गराउँदा मन्त्री पोखरेलले २०७५ साल भाद्र २६ गते ‘समस्या समाधान गरिदिने’ भनी तत्कालीन शिक्षा विभागका महानिर्देशकलाई लिखित आदेश दिएका थिय ।
शिक्षामन्त्रीकै लिखित निर्देशन भएपछि महानिर्देशक आफैं सीबीआर र जिल्ला शिक्षा कार्यालय भक्तपुर पुगेर समस्याबारे जानकारी लिए पनि हालसम्म समस्या सम्बोधन नभएको र यो समस्या सरकारी कार्यालय घुम्दा घुम्दै जटिल बनेको सीबीआरका संयोजक श्रेष्ठ बताउँछन् । तत्कालीन शिक्षा कार्यालयले च नं ८५६ को मिति २०७४।०८। १३ गते भक्तपुर नगरपालिकालाई लेखेको अनुदान दरबन्दी प्रमाणित गरी पठाएको पत्रमा ७ वटा शिक्षकको तलबभत्ता स्थानीय तहबाट व्यवस्था गरिदिनु भनि लेखेको थियो ।
सबै भन्दा बढी शिक्षाबाट वंचित बहिरा एवं बहु अपाङ्गता र गम्भीर प्रकारको अपाङ्गता भएका बालबालिकाले निर्वाध रुपमा शिक्षा पाउने संविधान प्रदत अनिवार्य एवं समतामूलक शिक्षा पाउने मौलिक अधिकार सुनिश्चित गर्नका लागि सहयोगी सीबीआरको बहुअपांगता ÷ बहिरा विशेष विद्यालयको भबिष्य नै यसबेला अन्यौलमा परेको छ । गत २०७४।७५ आ।ब।को तथा २०७५ र ७६ वर्ष तथा आगामी शैक्षिक वर्षको शिक्षा विभागबाट प्राप्त अनुदान कोटा अनुसार ७ जना प्राथमिक तहको राहत शिक्षकको अनुदान कोटा तथा १ जना आयाको २ वर्षको बाँकी तलब भत्ता सहित निरन्तर उपलव्ध हुने आवश्यक परिस्थिति निर्माण गरि दिन सम्पूर्ण सरोकारवालामा सीबीआरले अनुरोध गरेको छ । भक्तपुर नगरपालिकामा विशेष शिक्षा अन्तर्गत कक्षा १ संचालन गर्ने गरी बहुअपांगता ÷बहिरा विशेष विद्यालयको रुपमा दर्ता भएको छ ।
प्रकाशित मितिः २०७६ साउन ८ बुधबार
