मुलुकभर वृक्षारोपण अभियान सुरु
काठमाडौँ । सरकारले शनिबारदेखि मुलुकभर वृक्षारोपण अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाडौँको कोटेश्वरमा नास्पतिको बिरुवा रोपेर वृक्षारोपण अभियानको शुभारम्भ गरेका छन् ।
वृक्षरोपण अभियान शुभारम्भ कार्यक्रममा सरकारका मन्त्रीहरु, उच्चपदस्थ अधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, सर्वसाधरण लगायतको उल्लेख्य उपस्थिति थियो ।
वृक्षारोपण अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले औषधीयुक्त वनस्पतिको महत्व बुझेर संरक्षण र सम्बर्द्धनको साथै नयाँ बिरुवा रोप्न सबैलाई आग्रह गरे । सरकारले यस वर्ष सबैलाई बिरुवा उपलब्ध गराउन नसके पनि आगामी वर्ष बिरुवा उपलब्ध गराउने आश्वासन दिए । उनले बिरुवा रोप्नका लागि जग्गा उपलब्ध नभए गमलामा भए पनि रोप्न आग्रह गरे ।
असार १४ लाई राष्ट्रिय वृक्षारोपण दिवसको रुपमा मनाउने सरकारको निर्णय अनुसार शनिबार राजधानी काठमाडौँ लगायत मुलुकभर वृक्षारोपण गरिएको हो । राजधानीमा भने कोटेश्वर–कलंकी सडकखण्डमा वृक्षारोपण गरिएको छ ।
सरकारले वृक्षारोपण अभियान अन्तर्गत ३ वर्ष भित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना बनाएको छ । योजना कार्यान्वयनका लागि सरकारले मातहतका निकायलाई निर्देशन दिएको छ ।
प्रकाशित मितिः २०७६ असार १४ शनिबार