मध्यपुरमा नयाँ पाठ्यक्रमः मातृभाषाको छुट्टै विषय समावेश नहुने
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले विद्यालयस्तरीय पाठ्यक्रमलाई जेठ मसान्तभित्रमा लागु गर्ने जनाएको छ । पाठ्यक्रम निर्माण समितिले जेठ ९ गते शिक्षा समितिमा प्राथमिक तहदेखि कक्षा ६ सम्मको लागि नयाँ शिक्षण प्रणाली पेश गरिसकेको छ ।
‘अब विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक तथा शिक्षिकाहरुलाई अभिमुखिकरण तालिम गराउँछौं । त्यसपछि यहि महिनादेखि नयाँ पाठ्यक्रम लागु हुन्छ ।’ नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । हुन पनि नयाँ संविधान बमोजिम स्थानिय सरकारले पाठ्यक्रम बनाएर लागु गर्नुपर्ने जिम्मेवारी पाएको छ । शुरुको अवस्थामा जेठ १ गतेदेखि लागु गर्ने जनाए पनि कारणवश केहि समय ढिला भएको नगर प्रमुख श्रेष्ठले स्वीकारे ।
नयाँ बनेको पाठ्यक्रममा भूगोल, इतिहास र पर्यावरणलाई पहिलो च्याप्टर तथा स्थानिय नेपालभाषा र नेपाल लिपिलाई दोस्रो बनाइएको छ । त्यस्तै कला, सम्पदा, संस्कार, संस्कृतिलाई तेस्रो र स्थानिय पेशा व्यवसायलाई चौंथो च्याप्टरको रुपमा समावेश गरिएको छ ।
चार विषय मध्ये स्थानिय नेपालभाषा र नेपाल लिपिको लागि २२ पाठ घण्टी मात्र छुट्याइएको छ । भाषा जान्नेहरुको संख्या न्यून भएको तथा पाठ्यक्रमलाई सर्वमान्य बनाउन पनि नेपालभाषा र लिपिलाई अध्यापन गराउने समय छोट्याइएको पाठ्यक्रम निर्माण समितिका संयोजक रामकृष्ण दुवालले जनाए । दुवाल नेतृत्वको समितिमा सूर्य भण्डारी तथा चरण केशरी श्रेष्ठ सदस्यको रुपमा छनोट भएका छन् । तीन सदस्यीय समितिले नयाँ बनेको पाठ्यक्रममा क्रमिक रुपमा भाषाको विषयलाई समावेश गर्दै जाने जनाए ।
नयाँ पाठ्यक्रममा मातृभाषाको छुट्टै विषय समावेश नहुने
विद्यायलस्तरीय पाठ्यक्रममा स्थानिय मातृभाषा र लिपि समावेश गराउने विषयमा छलफल भएको छ । मध्यपुर थिमि नगरपालिकाको पाठ्यक्रम निर्माण समितिका पदाधिकारी तथा विद्यालय निरीक्षकसँग भाषासेवीहरुले छलफल गरेका हुन् ।
मध्यपुर थिमि वडा नं। ४ सुंगाः टोलस्थित बालप्रेमी माध्यमिक विद्यालयमा भएको छलफल कार्यक्रममा पाठ्यक्रम निर्माण समितिबाट संयोजक रामकृष्ण दुवाल, सदस्य चरण केशरी श्रेष्ठ तथा विद्यालय निरीक्षक नेत्रप्रसाद दाहालले सहभागिता जनाए । यता भाषासेवीतर्फका दिपक तुलाधर, विद्यादेवी चित्रकार, केके मानन्धर र सुन्दर श्रेष्ठले सहभागिता जनाएका हुन् ।
छलफलमा भाषासेवी दिपक तुलाधरले माध्यम भाषाको रुपमा अंग्रेजी र नेपाली भाषालाई समावेश गराएर स्थानिय भाषाको रुपमा मातृभाषालाई राख्न सकिने सुझाए । तुलाधरले नेवाः बस्ती नेवाः स्कूल अभियान अन्तर्गत आफ्नै निजी पहलमा राजधानीका सय भन्दा बढी विद्यालयमा मातृभाषा अध्यापन गराउँदै आएका छन् ।
लोप हुँदै गरेको भाषा बचाउन पनि देशभर मातृभाषाको शिक्षा अनिवार्य हुनुपर्ने उहाँको राय छ । हुन पनि सरकारको नयाँ शिक्षा नीति तथा ऐनले स्थानिय मातृभाषा अध्यापन गराउन निर्देशन दिइसकेको छ । तर नयाँ बनेको पाठ्यक्रममा मातृभाषालाई विषगयत रुपमा समावेश गरिएको छैन ।
प्रकाशित मितिः २०७६ जेठ १६ बिहिबार