गर्मी अत्यधिक बढेपछि कपिलवस्तुका अधिकांश विद्यालय बन्द
कपिलवस्तु । गर्मी अत्यधिक बढेपछि कपिलवस्तुका अधिकांश विद्यालय बन्द भएका छन् ।
गर्मीले गर्दा पठनपाठनमा समस्या आएकाले वाणगङ्गा र कपिलवस्तु नगरपालिकाका निजी तथा संस्थागत विद्यालयले एक हप्ताका लागि विद्यालय बन्द गरेका छन् । जिल्लाका अन्य आठ स्थानीय तहले समेत गर्मी बढेपछि विद्यालय बन्द गर्ने बारे छलफल भइरहेको जनाएका छन् ।
यही जेठ १२ देखि १७ गतेसम्मका लागि विद्यालयमा गर्मी बिदा दिइएको छ । अधिकांश सामुदायिक विद्यालयमा टिनको छाना भएको र कक्षाकोठामा पङ्खासमेत नभएका कारण विद्यार्थीलाई सास्ती छ । गर्मीका कारण साना बालबालिका कक्षा कोठामै निदाउने र अर्धचेत हुने समस्या बढेको शिक्षकले बताएका छन् ।
अभिभावकस्तरबाट गर्र्मीमा विद्यालय बन्द गर्ने माग भई आएकाले विद्यालयमा एक हप्ताका लागि बिदा दिइएको वाणगङ्गा नगरपालिका, शिक्षा शाखाका प्रमुख बावुराम भट्टराईले बताए । जिल्लाको तापक्रम ४० देखि ४४ डिग्री सेल्यियससम्म पुगेको छ । जिल्लाका अधिकांश विद्यालय बिहानमा सञ्चालन हुँदै आएका छन् ।
प्रकाशित मिति ः २०७६ जेठ ११ शनिवार