नेपालमै पहिलोपटक कुखुरामा देखिने गरेको बर्ड फ्लुको भाइरसबाट मानिसको मृत्यु
काठमाडौं । नेपालमै पहिलो पटक कुखुरामा देखिने गरेको बर्ड फ्लुको भाइरस मानिसमा देखिएको छ । सो भाइरसका कारण काभ्रेमा एक युवकको मृत्युसमेत भएको छ ।
काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । मृतकको नाम भने खुलाइएको छैन ।
ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो । तर उनको श्वासप्रश्वासमा समस्या भएर गएको चैत १५ गते नै मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिरामी भएर उपचारका लागि अस्पताल पुर्याइएका ती युवकको र्यालको परीक्षण पछि उनलाई बर्ड फ्लू भएको भन्ने पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले भाइरसको प्रकार पत्ता लागेन । त्यसपछि विश्व स्वास्थ्य संगठन जापानस्थित प्रयोगशालामा र्यालको नमूना पठाइएको थियो । वैशाख १७ गते प्राप्त नतिजामा इन्फ्लुएन्जा ए एच फाइभ एन वान संक्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एच फाइभ एन वानबाट मानिस संक्रमित भएको नेपालमै पहिलो पटक हो ।
यो भाइरस पहिलो पटक १९९६ मा पत्ता लागेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार २००३ देखि हालसम्म विश्वभर ८६० जनामा एच फाइट एन वान भाइरसको संक्रमण भएको छ । त्यसमध्ये आधा जत्ति (४५४) मानिसको मृत्यु भएको तथ्यांक छ । तर, अहिलेसम्म एच फाइभ एन वान भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि भने भएको छैन ।
प्रकाशित मितिः २०७६ वैशाख १९ बिहीबार