आज लोकतन्त्र दिवस मनाइँदै

भक्तपुर न्यूज

११ वैशाख २०७६ ५:३९

आज लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं । २०६३ वैशाख ११ गते लोकतन्त्र घोषणा भएको दिनको सम्झनामा आज बुधबार स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदै छ ।

२०६३ वैशाख ११ को राति तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । पुनःस्थापित संसदको जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

जनआन्दोलनमा कमान्डरसमेत रहेका कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभा चुनाव गराएको थियो । संविधानसभाको २०६५ जेठ १५ को बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो ।

वैशाख ११ गतेको जगमा देशमा ठूला परिवर्तन भए पनि यो दिन बिरानो बन्दै गएको छ । यो विशेष दिनलाई सरकार र राजनीतिक दलले पनि बिर्सिएको भान हुन थालेको छ ।

२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले राजनीतिक दलका नेतालाई नजरबन्दमा राखी शासन सत्ता आफ्नो हातमा लिएपछि दुई ध्रुवमा रहेका संसदीय दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच नयाँ दिल्लीमा १२ बुँदे समझदारी भएको थियो । दुई शक्तिकाबीच भएको यो समझदारीलाई वैशाख ११ गतेले नै अनुमोदन गरेको थियो ।

प्रकाशित मितिः २०७६ वैशाख ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय