आज विश्व मुटु दिवस मनाइँदै
भक्तपुर । ‘मुटुलाई स्वस्थ राख्ने शक्ति सबैलाई बाँडौं’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस, मनाइँदै छ । विश्व मुटु दिवसकै अवसरमा सार्वजनिक गरिएको एक तथ्याङ्कअनुसार नेपालमा मात्रै ६० लाख मानिसमा मुटुसम्बन्धी कुनै न कुनै समस्या रहेको छ । जसमध्ये अधिकांश मानिस जटिल प्रकारको मुटुसम्बन्धी समस्याबाट ग्रसित छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर वर्षेनी १७.७ लाख मानिसको मुटु रोगका कारण मृत्यु हुन्छ ।
नेपालमा २४ लाख महिला र ३६ लाख पुरुषलाई मुटुसम्बन्धी समस्या भएको अध्ययनले देखाएको छ । मुख्यतः वंशाणुगत गुण, व्यस्त जीवनशैली, अस्वस्थ खानपिन र सुर्तीजन्य पदार्थ सेवनका कारण मुटुका रोगीको संख्या दिन प्रतिदिन बढ्दै मुटु रोगका बिज्ञ चिकित्सकहरु बताउँछन् । मुटुरोगबाट जोगिन स्वस्थ जीवनशैली अपनाउने र खानपानमा ध्यान दिन उनीहरु सुझाउँछन् । चुरोट सेवन, नुनिलो वस्तु धेरै खानु र व्यायाम नगर्दा मुटु रोगीको संख्या दिनप्रतिदिन बढिरहेका चिकित्सकहरुको भनाई छ । कम्तीमा पनि सुर्तीजन्य पदार्थ सेवनलाई त्याग्ने र जीवनशैलीलाई आरामदायी बनाउन सके धेरै मात्रामा मुटु रोगीको संख्या घटेर आउने स्वास्थ्य बिज्ञहरुको विश्वास छ । त्यसका लागि जनचेतना फैलाउन आवश्यक रहेको छ ।
चिकित्सकहरुका अनुसार दुख्नु, दम बढ्नु, खुट्टा सुन्निनु, घाँटीको रक्तनली फुल्नु, ओठ, जिब्रो र औंलाका टुप्पा नीलो हुनु, औंलाका टुप्पा बाक्ला र चाक्ला हुनु, टाउको दुख्ने र चक्कर लाग्नु, मुटुको धड्कन रोकिने वा छिटो चल्नु, छातीमा हात राख्दा बिरालो कनेकोजस्तो थर्केको महशुस हुनु मुटु रोगका लक्षण हुन् ।यीमध्ये कुनैपनि लक्षण देखिए तुरुन्त मुटुको परीक्षण गराउनुपर्ने अर्का मुटुरोग विशेषज्ञ डा। यादवदेव भट्टको भनाइ छ । उनका अनुसार मुटुसम्बन्धी सबै रोगको उपचार नेपालमा सम्भव छ ।
मुख्यतः काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, वीर अस्पतालभक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्र लगायत , क्षेत्रस्तरमा मुटु रोगको उपचार हुने गरेको छ । मुटुको अपरेशन गर्न नेपालमा २ लाखदेखि ४ लाख रुपैयाँसम्म खर्च हुने गर्छ । हाल नेपालमा १५ अस्पतालले मुटु रोगको उपचार सेवा प्रदान गर्दै आएका छन् ।
प्रकाशित मितिः २०७५ असोज १३ शनिवार