भक्तपुरमा आजबाट बिस्केट जात्रा सुरु

भक्तपुर न्यूज

२७ चैत २०७४ १२:०८

भक्तपुरमा आजबाट बिस्केट जात्रा सुरु

भक्तपुर, २७ चैत । नव वर्षको आगमनसँगै सुरु हुने भक्तपुरको प्रसिद्ध साँस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्केट जात्रा आजबाट सुरु भएको छ । विशेषगरि नेवारी समुदायको प्रमुख पर्वको रुपमा रहेको बिस्केट जात्रा यो वर्ष २७ चैतबाट सुरु भएको हो । यो जात्रा आठ रात नौ दिनसम्म मनाइन्छ ।
काठमाडौ उपत्यकाको विभिन्न जात्राहरु भन्दा फरक खालको महत्व राख्ने बिस्केट जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिन्छ । भक्तपुर नगरको मध्य भागमा रहेको मानिने पाँचतल्ले मन्दिरको माथिल्लो टोल र तल्लो टोल गरी दुवैतिर डोरीको माध्यमले रथलाई तानतान गरिन्छ । करिब ३५ फिट अग्लो तीनतल्ले प्यागोडा शैलीमा काठैकाठबाट निर्माण गरिएको रथलाई सयौं युवाले तान्ने प्रचलन छ ।
जात्रालाई शान्ति पूर्ण बनाउन ३४ स्थानमा सिसी क्यामरा जडान गरेर निगरानी गरिनेछ भने जात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सिभिल प्रहरी गरी एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी खटाइनेछ ।
आजको जात्रामा कुनै अप्रिय घटना नदिन यसवर्ष एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । यस अतिरिक्त सिसी क्यामेरा जडान गरी निगरानी बढाइएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ । जात्रा हुने वरिपरी मदिरा बिक्री वितरणमा रोक लगाएको र झगडा गर्नेलाई सार्वजनिक मुद्दा लगाएर कारबाही गरिने समेत कार्यालयले जनाएको छ ।
बिस्केट जात्राको मुख्य आकर्षण भैरवनाथको रथ तानातान हो । प्रत्येक वर्ष नयाँं वर्षको चार दिन अगाडि भैरवनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते त्यही रथ तानेर जात्राको अन्त हुन्छ । यसबाहेक जात्राको मुख्य आकर्षण लिंगो उठाउनु र ढाल्नु पनि हो । वर्षको अन्तिम दिन अर्थात चैत ३० गते उठाउने लिंगो वर्षको पहिलो दिन वैशाख १ गते ढाल्ने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय