अस्थायी शिक्षक परीक्षा तयारी पुरा
भक्तपुर, १४ चैत । अस्थायी शिक्षक ब्यवस्थापनका लागि चैत २३ गते तोकिएको परीक्षाको सम्पूर्ण तयारी पुरा भएको शिक्षक सेवा आयोगले जनाएको छ । देशभरका पाँच जिल्लामा १ सय १६ परीक्षा केन्द्र तोकेकै दिन आज पत्रकार सम्मेलन गरेर आयोगले परीक्षाको तयारी सकिएको जनाएको हो ।
कानूनले गरेको ब्यवस्था अनुसार आफूहरु परीक्षा तयारीमा जुटेको आयोगका अध्यक्ष तारानाथ गौतमले बताए ।
आयोगले कानून अनुसार परीक्षा सञ्चालन गरेर कानूनको पालना गर्न खोजेको बताउँदै उहाँले परीक्षा नै नभईदिए हुन्थ्यो भनेर आन्दोलनमा लाग्नेहरुलाई सम्बोधन गर्ने निकाय आयोग हैन, आयोग त परीक्षा गर्ने निकाय हो त्यसैले तोकेको मितिमा गर्न प्रतिवद्ध रहेको बताए ।
परीक्षामा कूल २३ हजार २ सय ८६ अस्थायी शिक्षक सहभागी हुने छन् । शिक्षा ऐनको आठौं संशोधनले गरेको ब्यवस्था अनुसार १५ हजार ६ सय ८९ जना शिक्षकले परीक्षा रोजेकोमा नवौं संशोधनले उक्त कोटा बढाए पछि थप ७ हजार ५ सय ९७ शिक्षकले परीक्षा दिन आवेदन गरेका थिए ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले परीक्षा सञ्चालनमा संयोजन गर्ने छ । हरेक केन्द्रमा एक एक गरी १ सय १६ केन्द्राध्यक्ष, २ सय ३२ सहायक केन्द्राध्यक्ष र १ हजार २ सय ८३ निरीक्षक परीक्षामा सम्मिलित हुने आयोगले जनाएको छ ।
