काठमाडौ, १ चैत्र । ब्रिटेन सरकारले ७ करोड डलर लगानी गरेर एउटा नयाँ रासायनिक अस्त्र प्रतिरक्षा केन्द्र खोल्ने घोषणा गरेको छ । आधुनिक प्रतिरक्षा कार्यक्रमको एउटा हिस्साको रूपमा यो केन्द्र दक्षिणी ब्रिटेनस्थित पोर्टन डाउनमा स्थापना हुनेछ। पूर्व रूसी जासुस सरगेई स्क्रिपालमाथि आक्रमण गर्न प्रयोग गरिएको स्नायू प्रणालीमा असर गर्ने रसायनको पहिचान गर्न बैज्ञानिकहरूले उक्त केन्द्रमा मद्दत गर्नेछन्।
ब्रिटेन सरकारले रासायनिक अस्त्रको खतरा रूसबाट मात्रै नभइ उत्तर कोरिया जस्ता देशबाट पनि भएको बारे सचेत गराउने तयारी गरेको छ। सावधानी स्वरूप हजारौं ब्रिटिस फौजलाई छालामा असर गर्ने एन्थ्र्याक्स नामक संक्रमणविरुद्ध खोप लगाइने छ। पोर्टन डाउनस्थित सैन्य अनुसन्धान प्रयोगशाला खासगरी सुरक्षा फौज र सर्वसाधारणलाई रासायनिक र जैविक हमलाबाट जोगाउनका लागि निर्माण गरिएको हो। यसैबीच ब्रिटेनले २३ जना रूसी कूटनीतिज्ञहरूलाई निस्काषित गरेको छ।
ब्रिटेनकी प्रधानमन्त्री टरिजा मे ले साल्सबरीमा पूर्व रूसी जासुसमाथि स्नायू प्रणालीमा असर गर्ने रसायन प्रयोग भएकोबारे व्याख्या गर्न ती कूटनीतिज्ञहरूले अस्वीकार गरेपछि उनीहरूलाई निस्काषित गरिएको बताएकी हुन्। ब्रिटेनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई आफ्नो शान्त सहरमा रूसले युद्धमा पनि प्रतिबन्ध लगाइएको घातक अस्त्र प्रयोग गरेको बताएको थियो।
रूसले भने ती पूर्व जासुसको हत्या प्रयास गरेको आरोप अस्वीकार गर्दै उपयुक्त ढंगले त्यसबारे प्रतिक्रिया दिने जनाएको छ। यसैबीच अमेरिकी सरकारले ब्रिटेनको सोल्सबरी सहरमा स्नायू प्रणालीमा असर गर्ने रसायनबाट आक्रमण गरिएको विषयमा ब्रिटेनलाई पूर्ण समर्थन व्यक्त गरेको छ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सुरक्षा परिषद्लाई हमला गरिएका रूसी पूर्व जासुस र उनकी छोरीमाथिको हमलामा रूसको हात भएको अमेरिकाले विश्वास गर्ने बताइन्।
जर्मनीले पनि आफ्नो समर्थन ब्रिटेनप्रति जनाएको छ तर फ्रान्सले भने रूसलाई दोष लगाउनु अघि आफूले थप प्रमाणहरू हेर्न चाहेको जनाएको छ। संयुक्त राष्ट्रसंघका लागि रूसी राजदूत भसिली नबान्जियाले भने उक्त आक्रमणमा रूसको संलग्नता नरहेको जनाएका छन्। बीबीसी
Comments