एसईईमा ४ लाख ५२ हजार विद्यार्थी सहभागी
भक्तपुर २२ फागुन । यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई मा ४ लाख ५२ हजार विद्यार्थी सहभागी हुने भएका छन् । चैतको दोस्रो सातादेखि हुने उक्त परीक्षामा सोको संख्यामा विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । तिनीहरु सबै विद्यार्थी नियमिततर्फका हुन् ।
कार्यालयका अनुसार गतवर्षदेखि लागू भएको नयाँ पाठ्यक्रमका आधारमा कार्यालयले चैत ८ देखि परीक्षा लिन लागेको हो । २०५७ मा सुरु भएको कोर्षको परीक्षा गतवर्ष सम्म सञ्चालन गरिएको थियो । नयाँ पाठ्यक्रम पढेका विद्यार्थी सहभागी हुने सो परीक्षाका लागि कार्यालयले प्रदेश ६ र ७ का लागि आवश्यक प्रश्नपत्रको ढुवानीसमेत सुरु गरिसकेको जनाएको छ । यसपालि अनिवार्य विषयको गणितबाहेक सबै विषयमा २५ नम्बरको प्रयोगात्मक व्यवस्था गरिएको छ ।
कार्यालयले ७५ पूर्णाङको २ घण्टा १५ मिनेटको मात्रै परीक्षा लिँदै छ । एक्जाम्टेडसहित ४ लाख ८५ हजार ५ सय ६६ विद्यार्थीका लागि १ हजार ९ सय ५६ परीक्षा केन्द्र कायम गरिएको छ ।शिक्षा विभागका अनुसार कक्षा १ मा भर्ना भएकामध्ये ३७ प्रतिशत विद्यार्थी मात्रै १० कक्षाको एसईई परीक्षामा सहभागी हुँदैछन् ।
०६५ मा कक्षा १ मा भर्ना भएका विद्यार्थी यसपालि कक्षा १० को परीक्षामा सहभागी हुँदैछन् ।विभागका अनुसार ०६५ मा कक्षा १ मा १४ लाख ८५ हजार ३ सय ९५ जना भर्ना भएका थिए । अहिले तिनै विद्यार्थीमध्ये ४ लाख ५२ हजार ७ सय ८१ विद्यार्थी अर्थात् ३०।४८ प्रतिशत विद्यार्थीले मात्रै परीक्षा दिँदैछन् । भर्ना भएका विद्यार्थीमध्ये १० लाख ३२ हजार ६ सय १४ जना ९ वर्षमा बीचैमा गायब भएका छन् ।