प्रअ ‘तानाशाही’, शिक्षक ‘कामचोर’
भक्तपुर। २६ माघ । आफ्नै विद्यालयका प्रअविरुद्ध शिक्षकहरु लागेका छन् । प्रधानाध्यापकले विद्यालयमा तानाशाही प्रवृत्ति देखाएको भन्दै भक्तपुरको एक विद्यालयका शिक्षकहरु प्रअविरुद्ध लागेका हुन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं। ८ थाकलमठमा रहेको सरस्वती माविका प्रअ इन्द्रमणि गिरीका विरुद्ध सो विद्यालयमा कार्यरत शिक्षकहरु लागिपरेका हुन् । उनीहरुले प्रअविरुद्ध हस्ताक्षर संकलनसमेत गरिरहेको स्रोतले जनाएको छ । अहिले प्रअ र शिक्षको कित्ता फरक भएको छ ।
सो विद्यालयमा प्रावि तहमा ५, निमाविमा ६, माविमा ५ र उमावि दरबन्दीमा २ जना शिक्षक रहेका छन् । यसका साथै ६ जना निजी शिक्षक छन् । ईसिडीदेखि कक्षा १० सम्म २५९ जना विद्यार्थी अध्ययनरत सो विद्यालयमा शिक्षकहरु प्रअको निरङ्रकुशता विरुद्ध लाग्दा पठनपाठनमा समस्या भएको विद्यार्थीहरु गुनासो गर्दछन् ।प्रअविरुद्ध हस्ताक्षर संकलन गरेका शिक्षकहरुले प्रअ गिरीले आफूखुसी काम गरेको, शिक्षकहरुको भावनाको कदर नगरेको मात्र नभएर विद्यालयमा विभिन्न कामहरु गर्दा आर्थिक हिनामिना समेत गरेको आरोप लगाएका छन् ।
‘उहाँ प्रअ हुनुभएपछि उहाँको स्वेच्छाचारिता बढी देखिएको छ, उहाँले राजनीतिक पूर्वाग्रह राखेर फरक विचार राख्ने शिक्षकलाई पेल्ने काम गरेको छ,’ एक शिक्षकले नाम नबताउने सर्तमा भने, ‘हामी हस्ताक्षर संकलन गरी ७० प्रतिशत पुगेपछि उहाँलाई प्रअबाट हटाउँछौं ।’ उनीहरुले दुईतिहाई शिक्षकको हस्ताक्षर भएपछि ज्ञापनपत्रसहित वडाध्यक्ष र नगरप्रमुखलाई ज्ञापन पत्र पनि बुझाउने तयारी गरिरहेको बताए ।
प्रअ गिरी एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला समिति भक्तपुरका वरिष्ठ उपाध्यक्ष पनि हुन् । प्रअ गिरीले विद्यालयलाई राम्रो गर्ने क्रममा शिक्षकहरुलाई समयमा आउन, समयमा कक्षामा जान, सिकाइ उपलब्धि बढाउनका लागि कार्य सम्पादनको करार गराउँदा आफूहरुमाथि राजनीतिक आरोप लगाएको बताए ।
‘विद्यालयका नेपाली काँग्रेस, नेकपा एमालेनिकट पार्टीका शिक्षकहरु पनि छन, उहाँहरु आफ्नो जिम्मेवारीमाभन्दा बढी अन्यत्र ध्यान दिने खालका छन् कामचोर प्रवृत्तिका छन्, त्यसलाई नियमन गर्दा मविरुद्ध लागेको हुनसक्छ ।’ शिक्षकहरु आफूविरुद्ध लागेको आफूलाई थाहा नभएको बताउँदै प्रअ गिरीले भने ।
उनले आफू प्रअ भएपछि अभिभावको प्रतिक्रिया राम्रो भएको, विद्यालयको शैक्षिक उपलब्धि बढेको र विद्यार्थी संख्या पनि बढेको बताउँदै विद्यालयको हित नचाहने स्वभावका शिक्षकहरु आफूविरुद्ध खनिएको बताए । प्रअ गिरी २०७२ सालमा प्रअ भएका थिए ।