भक्तपुरको विकास निर्माण : अधिकांश अलपत्र
भक्तपुर, ६ कात्तिक । स्थानीयको अवरोधका कारण भक्तपुरलाई चौतर्फी रुपमा जोड्ने चार वटा ठूला पुल निर्माण अलपत्र परेको लामो समय भयो कमल विनायक नगरकोट जोड्ने सडक समेत पूर्ण रुपमा निर्माण पुरा हुन सकेको छैन् । सुवर्णेश्वरमा निर्माण गर्न लागिएको पार्क समेत वेवारिसे भएको छ । भक्तपुरको बाहिरी चक्रपथ समेत अहिलेसम्म अलपत्र अबस्थामा रहेको छ । यी त उदाहरण मात्र हुन भक्तपुरमा दर्जनबढी निर्माण योजनाहरु सरकारी उदासिनता र निर्माण कम्पनीको लापरवाहीका कारण वेवारिसे बनिरहेका छन् ।
भक्तपुर र काठमाडौँ जोड्ने मनोहरा खोला गोठाटार हरहरमहादेव पुल निर्माण विगत ७ वर्षदेखि स्थानीयले अवरोधकै कारण निर्माण हुुन नसकेको सडक डिभिजन कार्यालय भक्तपुरले जानकारी दिएको छ । कुल चार करोड ८५ लाखमा निर्माण सम्पन्न गर्ने गरी २०६६ साल पुस २४ गते सम्झौता भएलगत्तै ठेकेदार कम्पनीले पुनःनिर्माणका लागि आवश्यक निर्माण सामग्रीसहित काम सुरु गरेकै दिन पुल निर्माण हुुन नदिने भन्दै गोठाटार र मध्यपुर थिमिका बासिन्दाबीच झडप भएको थियो ।
मनोहरा खोलाले धार परिवर्तन गर्दा गोठाटारवासीको जग्गा थिमि क्षेत्रमा पसेकाले २०२१ साल कै नापीअनुसार खोलाको धार कायम गरेर पुल निर्माण गर्नुपर्ने गोठाटार बासिन्दाको माग थियो भने यसरी धार परिवर्तन गर्दा वर्षौदेखि थिमिका बासिन्दाले शव जलाउने घाटसमेत भत्काउनुपर्ने भएपछि यसमा थिमिको बासिन्दाले असहमति जनाउँदै खोला अहिले बगेकै स्थानमा पूल बनाउनु पर्ने माग गरेका थिए ।
यता काठमाडौँको इन्द्रायणी र भक्तपुरको चाँगुुनारायण जोड्ने मनोहरा–इन्द्रायणी पुल निर्माण अन्तिम चरणमा पुगेपछि स्थानीयले अवरोध गरेको कारण पनि उक्त पुल पूर्ण हुन नसकेको अबस्था अझै छ । २०६८ साल असार २७ गते निर्माण सम्झौता भएको उक्त पुुलको निर्माण कार्य हाल ८६ प्रतिशत सम्पन्न भएपछि नदी नियन्त्रणको काममा स्थानीयले अवरोध गरेपछि पुल निर्माणको काम अलपत्र परेको हो ।
त्यस्तै भक्तपुुरको चाँगुनारायण र काठमाडौँको ब्रम्हखेल जोड्ने चाँगुनारायण–ब्रम्हखेल खोला पुुल निर्माण कार्य सुरु भएपछि रोकिएको बताइएको छ । मध्यपुरथिमि नगरपालिका र अनन्तलिङ्गेश्वर नगरपालिका जोड्ने हनुमन्ते खोलामा निर्माण भइरहेको हनुमन्ते–दधिकोट पुल निर्माणको अन्तिम चरणमा बाधा आएको थियो । उक्त पुलको हाल स्ट्रक्चर निर्माण कार्य सम्पन्न भएको स्थानीय बताउँछन ।
