केयुद्वारा मापदण्डविपरीत शुल्क निर्धारण

भक्तपुर न्यूज

२ असोज २०७४ २:४६

केयुद्वारा मापदण्डविपरीत शुल्क निर्धारण

काठमाडौं २ असोज । चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेको शुल्कसम्बन्धी मापदण्डलाई बेवास्ता गर्दै काठमाडौँ विश्वविद्यालय ९केयु० ले भर्ना खुलाएको छ । विश्वविद्यालयले आइतबार जारी गरेको भर्नासम्बन्धी सूचनामा सरकारले तोकेको भन्दा बढी अध्ययन शुल्क निर्धारण गरेको छ । सरकारले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस अध्ययनका लागि उपत्यकाभित्र अधिकतम शुल्क ३८ लाख ५० हजार रुपैयाँ र उपत्यका बाहिर ४२ लाख ४५ हजारभन्दा बढी लिन नपाउने व्यवस्था गरेको छ ।

तर, काठमाडौं विश्वविद्यालयले जारी गरेको भर्नासम्बन्धी मापदण्डमा उपत्यकाभित्र ४३ लाख ९० हजार रुपैयाँभन्दा बढी शुल्क तोकेको छ भने उपत्यकाबाहिर पनि ४९ लाख ९० हजार शुल्क तोकेको छ । त्यसैगरी बिडिएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँभन्दा बढी शुल्क लिन नपाइने सरकारी मापदण्डको अवज्ञा गर्दै विश्वविद्यालयले २२ लाख रुपैयाँ शुल्क निर्धारण गरेको छ । यसको अलावा रजिस्ट्रेसन, परीक्षा शुल्क, सम्बन्धन, इन्टर्नसिपलगायत विभिन्न उपशीर्षकमा शुल्क लिने उल्लेख छ ।

यसैबीच काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा शुल्कसम्बन्धी निर्देशिकालाई अवज्ञा गरेको भन्दै माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले आपत्ति जनाएको छ । विद्यार्थी आन्दोलन तथा अन्य विभिन्न आन्दोलनको जगमा सरकारले जारी गरेको निर्देशिकालाई विश्वविद्यालयले ठाडो उल्लंघन गरेको भन्दै क्रान्तिकारीले आपत्ति प्रकट गरेको हो ।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आइतबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ विश्वविद्यालयले मापदण्डविपरीत तोकेको शुल्क तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

‘विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी सरकारको नीति र निर्णयको समेत हुर्मत लिनेगरी भएको शुल्कवृद्धिको निर्णय अविलम्ब खारेज गरेर मात्र भर्ना प्रक्रिया अघि बढाउन जोडदार माग गर्दछौँ, विज्ञप्तिमा उल्लेख छ ।

यस्तै सरकारले निर्धारण गरेको किस्ता प्रणाली र मेरिट लिस्ट पनि कडाइपूर्वक लागू गर्न पनि क्रान्तिकारीले आग्रह गरेको छ । यसका साथै अनेरास्ववियुले अनावश्यक विभिन्न उपशीर्षक खडा गरी विश्वविद्यालयले मोटो रकम असुल्न खोजेको आरोपसमेत लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *