भक्तपुर काठमाडौ जोड्ने सडक विस्तार अलपत्र
भक्तपुर, २२ भदौ । भक्तपुरदेखि काठमाडौ जोडने सडक विगत लामो समयदेखि अलपत्र परेको छ । सडक निर्माणमा देखिएको अबरोध कायमै रहेपछि उक्त सडक निर्माण पुरा हुन नसकेको हो । सडक विस्तारका क्रममा ‘रिटेनिङ वाल’ अर्थात टेवा पर्खाल भत्किएर तरकारी तथा अन्नबाली नष्ट भएको भन्दै एक वर्षदेखि स्थानीयवासीले अवरोध गर्दैं आएका छन् ।
भक्तपुरको बोडेबाट काठमाडौँंको मूलपानी जोड्ने बोडे–मूलपानी सडक विस्तारका क्रममा नीलबाराही चेकपोस्ट नजिकै निर्माण भइरहेको टेवा पर्खाल गतवर्ष भत्किएको स्थानीयले बताएका छन् । सडक निर्माण ठेकेदार कम्पनी ‘सन्तोषी पिआर जेभी ललितपुर’ ले बाली क्षति भएका कृषकलाई नष्ट भएको तरकारी, अन्नबालीको क्षतिपूर्ति स्वरूप ६ लाख दिईसकेको छ । तर, पनि यहाँका कृषकले क्षति बापतको रकम कम भएको भन्दै ३७ लाख माग गरेर सडक निर्माण कार्यमा अवरोध गरेका हुन् ।
एक बर्षदेखिको उक्त समस्या अहिलेपनि समाधान नभएर निर्माणको काम अघि बढ्न नसकेको डिभिजन सडक कार्यालय भक्तपुर प्रमुख इञ्जिनियर गुरुप्रसाद अधिकारीले बताएका छन् । आर्थिक वर्ष २०७२÷७३ मा थिमिको बाहाखाबजार, पुरानो बाटो हुलाक मार्ग र नगरपालिका भवन हुँदै मिलरोड, बोडै हँुदै मनोहरासम्म जोड्ने २ दशमलव ८ किलोमिटर सडक निर्माणमा समस्या देखिएको उनले बताए ।
सात मिटर फराकिलो कालोपत्रे एवं फुटपाथसहित निर्माण हुने उक्त सडकको मापदण्डभित्र परेका घरटहरा, बिजुली, टेलिफोनको पोल नहटाउँदा समेत सडक विस्तारमा समस्या आएको अधिकारीले जानकारी दिए । सडकमा मापदण्डभित्र ३८ घरटहरा, ३५ बिजुलीको पोल, ३२ टेलिफोनको पोल, दुईवटा मन्दिर र ढुंगेधारा, दुईवटा कम्पाउन्ड पर्खाल परे पनि त्यसलाई नहटाइदिँदा सडक विस्तारमा समस्या परेको छ ।