दशैको टिकट बुकिङमा बार्गेनिङ
काठमाडौं । बिहीबारबाट खुल्ने भनिएको दशैंको अग्रिम टिकट बुकिङमा यातायात व्यवसायी र सरकारबीच बुधबार साँझसम्म बार्गेनिङ चलिरहेको छ । यसले टिकट बुकिङ खुल्न नखुल्ने बारे अन्यौलता कायमै रहेको छ । यातायात व्यवसायीले विभिन्न माग राख्दै टिकट बुकिङ नखोल्ने बनाएपछि सरकारको निर्णय अन्यौलमा परेको देखिएको छ । सरकार पनि अग्रीम टिकट बुकिङ खुलाउने वातावरण बनाउन गम्भिर पहल गरेको छैन् । यसले तर्दा बिहीबारदेखि नै टिकमा दुई नंम्बरी अर्थात कालोबजारी हुने खतरा बढेको यात्रुहरु बताउँछन् ।
यातायात व्यवस्था विभागले १६ भदौमा सरोकारवालाको बैठक गरेर दशैंका लागि अग्रीम टिकट बुकिङ २२ गतेबाट खोल्ने निर्णय गरेको थियो । त्यतिबेला यो निर्णयलाई आलोचनात्मक समर्थन जनाएका यातायात व्यवसायी अहिले सरकारसँग बार्गेनिङमा लागिरहेका छन् ।
सरकारले दशैंमा यात्रुलाई सहजसँग घर जाने वातावरण नबनाएसम्म अग्रीम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाको भनाई छ । व्यवसायीहरुले अग्रिम टिकट बुकिङ खोल्न बसमा छत राख्न पाउनु पर्ने माग राख्दै आएका छन् ।
छतमा सामान र यात्रु राख्ने र ओभरलोडका कारण दुर्घटना बढेपछि सरकारले केहीमहिना अघि बसहरुमा छत नै राख्न नपाउने नियम ल्याएको थियो । व्यवसायीले सडकको अवस्था खराब भएकाले त्यसलाई मर्मत गरेर गाडी चल्न योग्य बनाउनुपर्ने माग गरेका छन् । मुग्लिन÷नारायणगढ सडकको अवस्था दयनीय भएपनि सरकारले ममर्त नगरेसम्म टिकट बुकिङ नखोल्ने सिटौला बताए । यातायात व्यवसायीहरुले दशैंकै मौका छापेर भाडावृद्धिको माग पनि अघि सारेका छन् । पुरानो भाडादर वैज्ञानिक नभएको बताउँदै उनीहरुले मूल्यवृद्धिका आधारमा भाडा समायोजन गर्न माग गरेका हुन् ।
यातायात व्यवस्था विभागका प्रवक्ता डाक्टर टोकराज पाण्डेले केही कम्पनीले अग्रीम टिकट बूकिङ खोलिसकेको र बिहीबार विहानैदेखि सबैले बुकिङ खोल्ने बताउँछन् । सरकार र यातायात व्यवसायीबीच भैरहेको दोहोरीको मारमा राजधानीबाट बाहिर जाने लाखौं यात्रुहरु पर्ने भएका छन् ।