भक्तपुर औद्योगिक क्षेत्र समस्यै समस्याबाट ग्रसित
भक्तपुर । सरकारले प्रत्येक प्रदेशमा एउटा सुविधा सम्पन्न औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अघि सारिरहेको अबस्थामा उपत्यकामै रहेको भक्तपुर औद्योगिक क्षेत्र समस्यै समस्याबाट ग्रसित बनेको छ । उपत्यकामा रहेका तीनवटा औद्योगिक क्षेत्रमध्ये सानो भक्तपुर औद्योगिक क्षेत्रमा नयाँ उद्योग सञ्चालनका लागि ठाउँ अभावदेखि ढल निकास र भौतिक संरचना मर्मत लगायतका पर्याप्त पूर्वाधार नहुँदा औद्योगिक क्षेत्र समस्याले ग्रसित बनेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।
औद्योगिक क्षेत्र ७१ रोपनी क्षेत्रफल जग्गामा फैलिए पनि उद्योगलाई भने ५८ रोपनी जग्गा मात्रै भाडामा दिएको छ । भक्तपुर औद्योगिक क्षेत्रभित्र नेपाली कागजको हस्तकला, काष्ठकला र धातुकलाका परम्परागत एवं मौलिक वस्तु उत्पादन गर्नेसँगै पस्मिना, दुग्धपदार्थ, कपडालगायतका ३६ उद्योग सञ्चालनमा रहेको छ । बर्जर ब्रान्डको अन्तर्राष्ट्रिय रंग उत्पादन गर्ने उद्योगसमेत यही औद्योगिक क्षेत्रभित्र छन । तर उद्योग रहेका भौतिक संरचना समेत जीर्ण बन्दै गएका छन् । यी संरचनाको अझै मर्मत हुन सकेको छैन् ।
मर्मतका लागि आबश्यक बजेट अभाव रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रशासकिय अधिकृत जीवनारायण बन्जाडेले बताए । अहिले औद्योगिक क्षेत्रभित्र दैनिक तीन÷चार घण्टासम्म लोडसेडिङ हुने गरेको उनले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ मुक्त क्षेत्र घोषणा गर्नुपर्ने उद्योगी रामप्रसाद प्रजापतिले बताए । उनले देश नै लोडसेडिङ मुक्त भईसकेको अवस्थामा भक्तपुर औद्योगिक क्षेत्रमा अझै लोडसेडिङ मुक्त हुन नसक्नुले उद्योगीहरुको लागत बढ्नुका साथै व्यवसायी दोहोरो मारमा परेको बताए ।
भक्तपुर औद्योगिक क्षेत्रमा जग्गा अभाव देखिएको कारण यहाँ व्यवसाय गर्न इच्छुक व्यक्तिले नयाँ उद्योग स्थापना गर्न सकेका छैनन् । कार्यालयका अनुसार नयाँ उद्योग स्थापनाका लागि यति जग्गाले नपुग्ने हुँदा थप जग्गा अतिक्रमण गर्नुपर्ने अबस्था आएको छ । ७१ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रमा ठाँउको अभाव हुदाँ औद्योगिक क्षेत्र भित्र नयाँ उद्योग सञ्चालन गर्न समस्या भएको कार्यालयले बताएको छ ।
भक्तपुर नगरपालिकाले पनि यो औद्योगिक क्षेत्रको विकास र यहाँ थप उद्योग स्थापनाका लागि सहयोग गर्न नसकेको व्यवसायीहरुले बताएका छन् । उनीहरुका अनुसार नगरपालिकाले बार्षिक प्रति उद्योग ४५ हजार कर असुली गर्दै आएको छ । तर नगरपालिकाले अहिलेसम्म उद्योग भित्रको फोहोर व्यवस्थापन भन्दा अरु विकासका कुनैपनि काम गर्न चासो नदेखाएको उनीहरुले आरोप लगाएका छन् ।
कार्यालयका अनुसार औद्यागिक क्षेत्रभित्र उद्योग सञ्चालन गरेवापत व्यवसायीले वार्षिक रूपमा जग्गाको बहाल प्रति रोपनी १० हजार ९ सय ७६ रुपैयाँ ५० पैसा र भवन बहाल प्रतिमहिना प्रतिवर्ग फिट तीन रुपैयाँ ७१ पैसामात्रै तिरिदै आएको छन् । सस्तो बहाल र औद्योगिक क्षेत्रभित्र रहेकाले सुरक्षाको दृष्टिले पनि अधिकांश नयाँ उद्योगीव्यवसायी यहीं आउन चाहे पनि ठाउँको अभावले गर्दा उनीहरुको मनोकामना पुरा हुन सकिराखेका छैनन् ।