काठ अभावमा पुनः निर्माण ढिलाई

भक्तपुर न्यूज

१९ भदौ २०७४ ३:०९

काठ अभावमा पुनः निर्माण ढिलाई

भक्तपुर, १९ भदौ । सम्पदाको शहरका रुपमा परिचित भक्तपुरका सम्पदाको जीर्णद्धारमा सरकारको ध्यान जान सकेको छैन् । यसले गर्दा निमार्णको कामले तिव्रता पाउन सकेको छैन । महाभूकम्पका कारण ध्वस्त भएका ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदा निर्माणको काम कछुवा गतिमा अघि बढेको छ ।

२०७२ बैशाखमा गएको भूकम्पले भक्तपुर जिल्लाभित्रका साना ठूला गरी १ सय ६ वटा सम्पदा पूर्ण तथा ११६ मा आंशिक रुपमा क्षति पुगेको थियो । तर अहिले एकाध संरचना मर्मत सम्भार बाहेक पुनर्निर्माण हुन सकेको छैन् । इतिहास बोकेका कतिपय संरचना अहिले पनि टेकोकै सहारा अडिरहेका छन् ।

हालसम्म भक्तपुर नगरपालिकाका शिलु महादेव मन्दिरको एक वर्ष अगाडिदेखि काम सुरु भएकोमा ४० प्रतिशत , सिद्धिलक्ष्मी मन्दिरको एक वर्ष अगाडिदेखि काम सुरु भएकोमा ४० प्रतिशत, टब सत्तलको ६ महिना अगाडिदेखि काम सुरु भएकोमा २० प्रतिशत र राष्ट्रिय कला संग्राहालयको ६ महिना अगाडिदेखि काम सुरु भएकोमा २० प्रतिशत सकिएको पुरातत्व विभाग भक्तपुरले जनाएको छ ।
यस्तै सूर्यबिनायक नगरपालिकाको अनन्तलिङ्गेश्वर मन्दिरको ३० प्रतिशत, सोही नगरपालिकाको दक्षिण बाराही मन्दिरको ९० प्रतिशत र चाँगुनारायण नगरपालिकाको चाँगुनारायण मन्दिरको ९० प्रतिशत काम सकिएको विभागले जनाएको छ ।

एक वर्ष अगाडि दरवार क्षेत्र भित्र सुरु गरेको सम्पदा पुनर्निमाणको काम निर्माण सामग्री र नेपाली सालको काठ नहुदाँ रोकिएको छ । सालको काठ नहुदाँ राष्ट्रिय कला संग्राहालयको काम ठप्प भएको छ भने, सिलु महादेव र सिद्धिलक्ष्मी मन्दिरको पुरानै संरचना अनुसार स्टक्चरल डिजाईन भईरहेको भन्दै पुनर्निमाणको काम रोकिएको छ । टीम्बर कर्पोरेशनले साईज अनुसारको नेपाली सालको काठ उपलव्ध नगराउँदा पुनर्निमाणमा ढिलाई भईरहेको पुरातत्व विभाग भक्तपुरका ईन्जिनियर मोहनकृष्ण श्रेष्ठले जानकारी दिए ।

त्यस्तै निर्माण व्यवसायी सानु सुवालले नेपाली काठ समयमै उपलव्ध नहुने हो भने पुनर्निमाणको काम समयमै सम्पन्न हुन नसकिने बताए । सरकारले पुनर्निमाणका लागि चाहिने चुना सुर्कि डाँची ईटा र नेपाली सालको काठ उपलव्ध गराउनु पर्ने व्यवसायी सुवालले वताए । आफनो कम्पनीले समयमै पुननिर्मान नगर्ने हो भने घाटा व्यहोर्नुपर्ने उनको भनाई छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *