उपत्यकामा रहेका अधिकांश सिसि क्यामेराले फोटो नै खिच्दैनन्
काठमाडौं । उपत्यकाको शान्ति सुरक्षा र चोरी लगायतका आपराधिक घटना न्यूनिकरणका लागि जडान गरिएकामध्ये अधिकांश सिसि क्यामेरा बिग्रिएका छन् । यी क्यामेराले फोटो नखिच्ने गरेको पाईएको छ ।
अत्याधिक सवारी चाप हुने काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि यसअघि उपत्यकाका विभिन्न स्थानमा करिब ४ सयको हाराहारीमा यस्ता क्यामरा जडान गरिएको थियो । तर अहिले अधिकांश क्यामराहरु कामै नलाग्ने गरि बिग्रिदा प्रयोगमा आउन सकेका छैनन् ।
यसअघि नै महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुईसय सिसि क्यामेरा, ५० ड्यासबोर्ड क्यामेरा, ६४ ग्रोप्रो क्यामेरा र १४ बडिवन क्यामेराद्वारा उपत्यकाको ट्राफिक व्यवस्थापन गरेको थियो भने ललितपुर र भक्तपुरका मुख्य मुख्य स्थानमा पनि सिसि क्यामरा जडान गरिएको थियो । विद्युतका पोलमा अहिलेपनि ती सिसि क्यामेरा झण्डिएकै छन तर तीमध्येका अधिकांश क्यामेराले फोटो चाँही खिच्दैनन् ।
उपत्यकामा अत्याधिक मात्रामा लेन अनुशासन उलङ्घन हुने गरेको बताउँदै सडकमा अनुशासन कायम गराउनका लागि उक्त क्यामेरा प्रयोगमा ल्याइएको भएपनि लक्ष्य अनुसार क्यामेराको प्रयोग हुन नसकेको महानगरीय प्रहरी नै बताउँछ ।
महाशाखाले सिसि क्यामरा सडकमा राखेको छ ।
ड्यासबोर्ड क्यामेरा हरेक ट्राफिक प्रहरी चढ्ने सवारी साधनमा जडान गरिएको छ । यस्तै ग्रोप्रो र बडिवन क्यामेरा ट्राफिकको शरीरमा लगाएर सवारी व्यवस्थापन गरिएको छ । तर उपत्यकामा सानादेखि मझौला खालका चोरी, डकैतीदेखि आपराधिक गतिविधि भैरहेका छन् । ग्रोप्रो र बडिवन क्यामेरा लिएर गल्लीगल्लीमा जान सकिने हुँदा यसको प्रयोग धेरै भएपनि क्यामेराले फोटै नखिच्दा उपलब्धी शुन्य जस्तै भएको छ ।
महाशाखाले नागरिकले पठाएका तस्बिरलाई आधार मानेर आवश्यक अध्ययन गरी दैनिक ८ देखि १२ सवारी साधनलाई कारबाही गरेको दाबी गरेपनि चोरी, डकैती जस्ता आपराधिक कार्यमा भने यी क्यामेरा प्रभावकारी रुपमा प्रयोगमा आउन सकेका छैनन् । भक्तपुरको दुधपाटी आसपासमा रहेका क्यामेरा त विगत २ महिनादेखि नै बिग्रिएका छन् ।
यी क्यामेराको मर्मत गरी सञ्चालनमा ल्याउने बिषयमा महानगरीय प्रहरी परिसर भक्तपुर, भक्तपुर नगरपालिका लगायतका सम्बन्धीत निकायको ध्यान जान नसकेको सिद्धपोखरीका स्थानीय बताउँछन् । उनीहरुका अनुसार क्यामेरा अगाडी नै पार्किङ गरी राखेका नीजि गाडीका क्यासेट सेट समेत चोरीने गरेका छन् ।
यसरी चोरी बढ्दा चोर पत्ता लगाउन सिसि क्यामेराको सहयोग लिन खोजेपनि भक्तपुरका अधिकांश क्यामेरा बिगिएको कारण चोर पत्ता लाउन सकिएको छैन् ।
काठमाडौका मुख्य चौकमै राखेका कतिपय क्यामेरा बिगिएका छन भने ललितपुर भक्तपुरको अबस्था पनि उस्तै रहेको प्रहरीले बताएको छ । अहिले बाटो विस्तार खानेपानीको पाइप जडानका कारण विद्युतका पोल सार्ने निहुँमा पनि कतिपय सिसि क्यामेरा बन्द गरिएको प्रहरी बताउँछ ।
राजधानीका कुनै कुनै सडकमा नियम देखिएपनि सिसि क्यामेरा बिगिएको थाहा पाएपछि चालकले सडक नियमको पालना समेत गर्न छोडेका छन् । यसले उपत्यकामा सानातीना दुर्घटना भैरहेको पाईएको छ । अधिकांश बाटोहरुमा सिसि क्यामेरा जडान गरिएपनि ती क्यामेरा लक्ष्य अनुसार सदुपयोग र प्रयोग हुन नसकेको भक्तपुरका जीवन भुजु बताउँछन् ।
उपत्यकामा सवारीसाधनको व्यवस्थापन पनि ठुलो समस्या बन्दै गएको छ । साँघुरा सडक उच्च सवारीको चाप पुराना सवारी साधनले बढ्दो वायु प्रदुषण लगायतका कारणले उपत्यकाको सडकको यात्रा दिनप्रतिदिन असहज बन्दै गएको छ । सडकमा जडान गरिएका सिसि क्यामेरा बिग्रिएका कारण ट्राफिक व्यवस्थापनमा झनै कठिनाई उत्पन्न भैरहेको भक्तपुर ट्राफिक प्रहरीले जनाएको छ ।