पाँच सय र हजारका नोट प्रतिबन्ध लगाउन कांग्रेस नेता गुरुङको माग

भक्तपुर न्यूज

५ असार २०८१ १०:२५

पाँच सय र हजारका नोट प्रतिबन्ध लगाउन कांग्रेस नेता गुरुङको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् । मुलुकमा आर्थिक सुशासन कायम गर्ने हो भने सरकारले पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने उनको भनाइ थियो ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजनमाथि भएको छलफलमा भाग लिँदै उपसभापति गुरुङले ती नोटहरुमाथि प्रतिबन्ध गरियो भने मुलुकमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने, सोही अनुपातमा गैरकानुनी कारोबार रोकिने र ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुने दाबीसमेत गरे । उनले अवैध रुपमा राखिएका धनराशी पनि पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि बाहिर आउने उल्लेख गरे ।

‘आर्थिक सुशासनका लागि मेरो प्रस्ताव हो यो, पाँच सय र हजारको नोट प्रतिबन्ध गर्न सक्नुपर्दछ । सरकारमा बसेका साथीहरुलाई यो निवेदन गर्न चाहन्छु, सभामुख महोदय । आजको दिनमा यदि आर्थिक सुशासन सुशासन कायम गर्ने हो भने हामीले पाँच सय र हजारको नोट अब प्रतिबन्ध गरेर जान आवश्यक छ’, उपसभापति गुरुङले भने,‘यदि यी नोटहरु प्रतिबन्ध गर्‍यौं भने ८० प्रतिशत गैरकानुनी कारोबार रोकिन्छ । ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुन्छ । र, ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुन्छ । यसरी जाने हो नि त । अनि सिरानी मुनि भएका पैसा, खाटमुनि भएका पैसा, जमिनमुनि भएका पैसा, पानीमुनि भएका सबै पैसा बाहिर आउँछ ।’

प्रकाशित मितिः २०८१ असार ०५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *