रसायन हालेर पकाइएको र प्राकृतिक रुपमा पाकेको आँप कसरी चिन्ने ?

भक्तपुर न्यूज

५ असार २०८१ ८:५६

रसायन हालेर पकाइएको र प्राकृतिक रुपमा पाकेको आँप कसरी चिन्ने ?

काठमाडौं । मीठो र रसिलो आँप मन नपराउने सायदै होलान् । यतिबेला आँपको सिजन भएकाले जताततै फलफूलको राजा मानिने आँप पाइन्छ । स्वास्थ्यवर्द्धक र स्वादिलो आँपलाई पकाउने बेलामा रसायन हाल्ने कुकर्मले अमृतजस्तो फललाई विष समान बनाइरहेको छ । रसायन र कीटनाशकहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् । त्यसैले रसायन प्रयोग गरेर पकाएको आँपले पनि स्वास्थ्यमा असर गर्छ ।

यस्तो अवस्थामा आँप किन्दा केमिकलमुक्त आँपको पहिचान गर्नु जरुरी हुन्छ । किनभने रासायनिक तरिकाले पकाएको आँपमा क्याल्सियम कार्बाइड नामक रसायन हुन्छ । क्याल्सियम कार्बाइडजस्ता रसायन हालेर पकाइएको फलफूलका धेरै नकारात्मक स्वास्थ्य असर हुन्छन् । रसायन राखेर पकाइएको आँप खाँदा पेट दुख्ने, वान्ता हुने, घाँटीमा असर, टाउको दुख्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वाथ्यमा समेत घातक निम्तिन सक्छ ।

यस्तै, गर्भवती महिलाले कार्बाइड धेरै सेवन गर्दा गर्भ तुहिने र क्यान्सरसमेत हुने संभावना हुने क्यानेडियन वैज्ञानिकहरुले गरेको एक अध्ययनले देखाएको छ ।

पाकेको आँपमा चीनिजन्य पदार्थ, विभिन्न भिटामिन र खनिज तत्वहरु प्रशस्त मात्रामा पाइन्छ। आँप भिटामिन सी, भिटामिन ए, भिटामिन इ, फोलेट, भिटामिन बि ६ का साथै कपर, म्याग्नेसियमजस्ता खनिजको राम्रो स्रोत हो। शरीरका कोष स्वस्थ राख्न चाहिने भिटामिन पाइने भएकाले आँपले छालाको चाउरीपन रोक्न मद्दत गर्दछ। शरीरको रोग प्रतिरक्षा क्षमता बढाउने भिटामिनहरु पाइने भएकाले आपँलाई इम्युनो बुस्टिङ (रोगसँग लड्ने क्षमता बढाउने) फल पनि भन्ने गरिन्छ।

कार्बाइड हालेको आँप कसरी चिन्ने ?

१. रंगद्वारा पहिचान

सामान्यतया धेरै आँपको आकर्षक रङ हेरेर त्यसको आधारमा आँप किन्ने गर्छन् । तर रङकै आधारमा त्यसमा रसायन प्रयोग भएको छ कि छैन भन्ने कुरा पनि पत्ता लगाउन सकिन्छ । आँप प्राकृतिक रूपमा पाकेको छ भने यसको रङ हल्का पहेंलो र हरियो हुन्छ । रसायनले पकाएको आँप भने धेरै गाढा पहेंलो रङको हुन्छ ।

२. दाग हुनसक्छ

आँपमा रहेको दागले पनि यसको रासायनिक मिसावट भएको संकेत दिन सक्छ । कतिपय आँपमा नीलो, कालो वा सेतो दागहरू देखिन सक्छ । यस्ता आँप किन्नु हुँदैन । केमिकलका कारण यस्तो दाग देखिएको हुन्छ ।

३. पानीमा डुबाएर जाँच्ने

घरमा साधारण परीक्षण गरेर केमिकल पत्ता लगाउन सकिन्छ । किनेर ल्याएको आँपलाई पानीले भरिएको बाल्टिनमा राख्नुहोस् । पानीमा डुबेको आँप प्राकृतिक रुपमा पाकेका हुन् । माथि तैरिने आँपहरू केमिकलले पकाएको हुनसक्छ ।

४. काटेर हेर्ने

आँप काट्दा गुदीको रङ एकै किसिमको पहेंलो भएमा प्राकृतिक रूपमा पाकेको हुन्छ । यदि आँपको छेउको भाग धेरै पहेंलो छ र बीचको भाग हल्का मात्र पहेंलो छ भने यो केमिकलको संकेत हो ।

५. बास्ना महत्त्वपूर्ण छ

रसायन प्रयोग भए नभएको पत्ता लगाउन आँपको सुगन्ध पनि धेरै महत्त्वपूर्ण छ । रसायनको प्रयोगबाट पाकेको आँपको बास्ना निकै कम हुन्छ र कुनैमा आँपमा त बास्ना नै हुँदैन । तर प्राकृतिक रूपमा पाकेको आँपको मीठो बास्ना हुन्छ ।

६. स्वाद फरक हुन्छ

रसायन हालेर पकाइएको आँप प्राकृतिक रुपमा पाकेकोको तुलनामा कम गुलियो र कम स्वादिष्ट हुन्छ ।

प्रकाशित मितिः २०८१ असार ०५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *