आंशिकदेखि साधारणतया बदली रहने

भक्तपुर न्यूज

२४ जेठ २०८१ २:५३

आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका थोरै स्थानहरु र सुदुरपश्चिमका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम,कर्णाली र लुम्बीनी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राती कोशी, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।

नेपालमा अहिले स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ५ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३० दशमलव ७ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै जिरीमा १७ दशमलव ३ मिलिमिटर वर्षा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *