आफू लक्षित ओलीको टिप्पणीप्रति शिक्षा मन्त्री सुमनाको प्रतिवाद !
काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई लक्षित गरेर दिएको अभिव्यक्तिको प्रतिवाद गरेकी छिन् ।
बुधबार सामाजिक सञ्जाल ‘एक्स’मा एउटा पोस्ट गर्दै उनले ओलीलाई संकेत गर्दै ‘समाजका अगुवाको अभिव्यक्ति’ भन्दै त्यो एकजना सुमना श्रेष्ठको लागि मात्रै नभएर आफू जस्तै सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन र कमाउन बाहिरिने सबैप्रति लक्षित भएको उल्लेख गरेकी छिन् ।
विदेशमा बसेर फर्किदा पैसा बाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने यहाँ राजनीतिमा जमेर बसेकाहरूलाई लाग्दो रहेछ भन्ने श्रेष्ठको अनुभूति छ ।
‘यहाँ आएर राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र वर्षौँदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिस्पर्धा नबढाउन्, उनीहरूको हो मा हो भन्ने कार्यकर्ता बनुन् भन्ने अभिष्ट राख्दा रहेछन्’, श्रेष्ठले लेखेकी छन् ।
श्रेष्ठले विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइहाल्छ? भन्ने प्रश्न पनि सोधेकी छिन् ।
‘बिहे भएपछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन ? श्रीमान्को पहिचानबाहिर नारीको आफ्नो पहिचान हुँदैन ? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइहाल्छ ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त ? हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन्’, उनले लेखेकी छिन् ।
केही दिनअघि फरकफरक अभिव्यक्तिमार्फत् एमाले अध्यक्ष ओलीले सुमना श्रेष्ठले विदेशीसँग विवाह गरेको र घुम्दै आएर नेपालमा सांसद र मन्त्री भएको भनेका थिए ।
विदेशमा पढ्न वा रोजगारीका लागि कोही पनि नगएको परिवार खोज्न कतिको सहज छ ? पक्कै छैन । अवस्था कस्तो छ भने नागरिकतामा उमेर बढाएर किशोर/किशोरीहरू विदेशिदैँछन् भन्ने सुन्दा नपत्याउने आधार छैन । साह्रै ठूलो संख्यामा युवाहरू विदेशमा छन् ।
आफ्नो गच्छेले सकेको ठाउँमा पुगेका हुन्छौँ ।…
— Sumana (@SumanaShrestha) June 5, 2024
प्रकाशित मितिः २०८१ जेठ २३ बुधबार