चुरे दोहन गर्नेबाट तपाईंहरूलाई कति हिस्सा आउँछ ? भन्दै शीर्ष नेतालाई प्रभु साहको प्रश्न
काठमाडौैं । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले चुरे संरक्षण नहुँदा तराई मधेशमा पानीको समस्या भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले चुरेको वन फडानी भएको, जंगली जनावरसमेत नरहने अवस्था आएको र पर्यावरणमा समस्या उत्पन्न भएको बताएका हुन् ।
‘तराई मधेशमा पानीको हाहाकार छ । यसको कारण चुरे क्षेत्रको अवैध उत्खनन् हो’ उनी भन्छन्, ‘चुरेको संरक्षणको जिम्मेवारी पाएकाहरू दोहनमा संलग्न छन् । स्थानीय तहका जनप्रतिनिधिसमेत यस्तो कार्यमा संलग्न रहेको पाइएको छ । कुनै न कुनै ढंगले प्रमुख पार्टीका प्रमुख नेताहरू यसमा संलग्न छन् । किनभने टिकट दिने, उम्मेदवार बनाउने काम नेताहरूले छानीछानी गरेका छन् । म सोध्न चाहन्छु– त्यसबाट तपाईंहरूलाई कति हिस्सा आउँछ ?’
स्थानीय जनप्रतिनिधि, सांसदहरू नै चुरे दोहनमा संलग्न रहेको र यस्तो प्रवृतिको संरक्षण प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूबाट भइराखेको उनले आरोप लगाए ।
चुरे संरक्षणका लागि बन्ने समितिहरू पनि राजनीतिक भागबन्डाको आधारमा हुने र गएको बजेट भागबन्डामा वितरण हुने अवस्था रहेको उनले बताए । चुरे संरक्षण गर्नका लागि दोहनमा संलग्नहरूमाथि छानबिन हुनुपर्ने साहले बताए । यसका लागि संसदीय छानबिन समिति बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
प्रकाशित मितिः २०८१ जेठ २२ मंगलबार