सन्दीपलाई भिसा दिलाउन परराष्ट्रले थाल्यो कूटनीतिक पहल

भक्तपुर न्यूज

११ जेठ २०८१ ८:५०

सन्दीपलाई भिसा दिलाउन परराष्ट्रले थाल्यो कूटनीतिक पहल

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा सहभागी हुन जान अमेरिका जाने तयारीमा रहेका क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नपाएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको छ । परराष्ट्रको अमेरिका हेर्ने डिभिजनमार्फत् अमेरिकी दूतावासमा पहल सुरु भएको परराष्ट्र स्रोतले जनाएको छ ।

टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे खुलाएका थिए । एक किशोरीसँग जबरजस्ती करणी गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेपछि उनलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको थियो । तर गत साता उच्च अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

विश्वकपको आयोजक राष्ट्रले विश्वकप खेल्न जाने खेलाडीलाई रोक्न खोजेको भनेर नेपालमा तीव्र आलोचना भइरहेको छ । समर्थकहरुले अमेरिकी दूतावासको फेसबुक पेजमा आलोचना गरिरहेका छन् । भिसा नदिएको विषयमा भने अमेरिकाले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

नेपाल क्रिकेट संघले आवश्यक कागजातहरूसहित राष्ट्रिय खेलकुद परिषदमा पठाएको थियो । परिषदले त्यसको अध्ययन गरेर खेलकुद मन्त्रालयमा र खेलकुद मन्त्रालयले परराष्ट्रमा पत्राचार गरेका थिए । खेलकुद मन्त्रालयको पत्रका आधारमा परराष्ट्रले दूतावाससँग समन्वय गरिरहेको स्रोतले बताएको छ ।

विश्वकप खेल्ने टिमले २५ मेसम्म आफ्नो स्क्वाड घोषणा र हेरफेर गर्न सक्छन् । यद्यपि, टीमलाई आवश्यक पर्दा जुनसुकै बेला पनि आईसीसीको अनुमति लिएर खेलाडी परिवर्तन गर्न सकिन्छ । आईसीसीले सन्दीपलाई स्क्वाडमा समेट्न अनुमति दिइसकेको छ ।

प्रकाशित मितिः २०८१ जेठ ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *