प्लानिङको ‘मनपरी’ विरुद्ध उत्रिए स्थानीय

भक्तपुर न्यूज

२७ साउन २०७४ ५:११

प्लानिङको ‘मनपरी’ विरुद्ध उत्रिए स्थानीय

भक्तपुर, २७ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको च्याम्हासिँह—नाला सडक छेउमै गरिएको अनियमित प्लानिङवरुद्ध स्थानीयहरु आन्दोलित भएका छन् ।

साविकको ताथली गाविसको छुँने डाँडा मुसा खाने डाँडामा नगरपालिका, वडा कार्यालय र नगर विकास प्राधिकरणको स्वीकृति विना गरिएको प्लानिङले मनपरी गर्न थालेपछि स्थानीय आन्दोलित भएका हुन् ।
आन्दोलन अन्तर्गत उनीहरुले अवैध रुपमा प्लानिङ गरिरहेको सी आर। हाउजिङ प्राइभेट लिमिटेडको ध्यानाकर्षण गरी विरोध पत्र बुझाएका थिए ।

सो क्षेत्रको ५४ रोपनी क्षेत्रफलमा प्लानिङ अन्तर्गत जग्गा डोजर लगाएर सम्याएपछि बगेको पाँगो माटोले नाला सडक र सडक दायाँबायाँ रहेको नाली पुएिपछि आवतजावत र सवारी सञ्चालनमा समस्या भएपछि विरोधमा उत्रिनुपरेको स्थानीय किसान कृष्णगोपाल प्रजापतिले बताए ।

उनले प्लानिङको कारण आफूले लगाएको धानबाली पुरिएकोमात्र नभएर सडकमा हिँडडुल गर्न पनि समस्या भएको बताए । प्लानिङ गरिएको भागको माटो सडकै सडक भएर बग्दा सडक दुर्घटना पनि भएको स्थानीय गणेश कोजूले जानकारी दिँदै प्लानिङले आफूखुसी गरेर सबैलाई समस्यामा पारेको बताए । ‘प्लानिङकै कारण सडक छेउमा रहेको घरमा भलबाढी बसेको छ, लगाएको धानबाली पुरिएको छ ।’ उनले भने ।

प्लानिङ गर्ने कम्पनीका प्रबन्धक रामजी दाहाललाई समस्या सुनाए पनि समस्याको समाधानमा बेवास्ता गरेपछि आन्दोलन गरेको स्थानीय युवा जयकृष्ण न्हेमाफूकीले भने । ‘पीच गरिएको सडक जम्मे माटोले पुरिएपछि हिलाम्य र धूलाम्य भएको छ, यसले हामीलाई आवतजावत गर्न ठूलो समस्या भएको छ ।’ उनले भने ।

विना स्वीकृति र अनुमति जग्गा सम्याउने काम गर्दा निस्केको माटोको कारण च्याम्हासिँह–नाला सडकको आधा भाग धूलाम्य र हिलाम्य हुँदा सडक प्रयोगकर्ता सबैलाई असर पुगेको छ । ‘सडक–सडक नभएर नालीजस्तै बन्न पुगेको छ । यस्तो हुँदा पनि प्लानिङकर्ताहरुको ध्यान गएको छैन,’ स्थानीय उत्तम साखकर्मीले भने, ‘सोही समस्या समाधान गर्नका लागि हामीले सम्बन्धित निकायलाई घच्घच्याएका हौं ।’

स्थानीयहरु आन्दोलित भएपछि हाउजिङका एक कर्मचारी राजन रिजालले स्थानीयले उठाएको जायज मागलाई सम्बोधन गरी काम गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *