उपत्यकामा आज गाईजात्रा रौनक

भक्तपुर न्यूज

२३ साउन २०७४ ३:१८

उपत्यकामा आज गाईजात्रा रौनक

भक्तपुर २४ साउन । सोमबार अर्थात आज भक्तपुर लगायत उपत्यकामा गाईजात्रा पर्व मनाईदैछ । गाईजात्रामा प्रदर्शन हुने विभिन्न नाच, नाटक, प्रहसनको तयारी हिजो आईतबार नै पुरा भैसकेको थियो ।  काठमाडौँ उपत्यकाका तीन वटै सहरसहित देशका मुख्य मुख्य सहरमा उक्त जात्रा हरेक बर्ष मनाउँने गरिएको छ ।

एक वर्षअघिदेखि दिवंगत भएका आफन्तको सम्झनामा गाई सिँगारी सहर घुमाएर यो पर्व मनाउने गरिन्छ । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दहीचिउराका साथै अन्य परिकार पनि खुवाउँछन् । गाईजात्रामा प्रदर्शनका लागि विभिन्न प्याखं (नाच)को तयारी टोलटोलमा भइरहेको सुकुलढोकाका राकेश श्रेष्ठले बताए । गाईजात्राका क्रममा यहाँ सयौं नाच देखाइन्छ । यहाँ देवी प्याखं, भैल प्याखं, माक प्याखं, गाईचा प्याखं, लुसी प्याखं, फाकंदली प्याखं, नागाचा प्याखं नाच देखाईने उनले जानकारी दिए ।

लाखे प्याखं, नटु वाचा प्याखं, कंलाली प्याखं, जंगली प्याखं, भालु प्याखं, खिचा प्याखं, ख्या प्याखं, कवाँचा प्याखंलगायत नाच पनि देखाउने प्रचलन रहेको उनी बताउँछन् । हनुमान, म्हेखा, किजापूजा, कपायफेनेगू, सलां प्याखं, झ्या झ्या प्याखंलगायत नाचको पनि तयारी भइरहेको गाईजात्रा मेला आयोजकहरुले बताएका छन् । गाईजात्राका क्रममा एउटै वडाबाट पनि दर्जनौं नाच, नाटक, प्रहसन प्रदर्शन गर्ने प्रचलन रहँदै आएको छ । गाईजात्राको अघिल्लो दिन जनैपूर्णिमादेखि आठ रात नौ दिनसम्म गाईजात्रा मनाइन्छ । जात्रा क्रममा नगरका विभिन्न ठाउँमा टोलटोलका नाच, नाटक, प्रहसन प्रदर्शन गरिन्छ ।

भक्तपुर नगरपालिकाले गाईजात्रामा प्रदर्शन गरिने नाच, नाटक, ख्याललाई नगद पुरस्कार व्यवस्था गरेपछि जात्रा क्रममा टोलटोलबाट साँस्कृतिक प्रदर्शन गर्ने क्रम बढेको हो । नगरपालिकाले वर्षेनी जात्रामा हुने साँस्कृतिक प्रदर्शनको मूल्यांकन गरी पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार वितरण गर्दै आएको भक्तपुर नगरपालिकाले जनाएको छ । यस वर्ष नाच, नाटक र प्रहसन गरी थुप्रै विधामा पुरस्कार वितरण गरिने नगरपालिकाले बताएको छ ।

भक्तपुरमा गाईजात्रा नौ दिनसम्म धुमधामका साथ मनाउने क्रममा टोलटोलका नाच, नाटक, प्रहसन नगरभरि देखाइने संस्कृतविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् । उनका अनुसार गाईजात्राका लागि गठामुग सकिएलगत्तै टोलटोलमा तयारी सुरु हुने गर्छ । जनैपूर्णिमादेखि सुरु हुने गाईजात्रा कृष्णअष्टमीसम्म प्रदर्शन हुने उनले बताए । गाईजात्राका दिन अर्थात सोमबार यहाँ विशेष नाच घिन्तान्गिसी प्रदर्शन गरिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *