नगरकोट सडकमा अवरोध नै अवरोध
भक्तपुर । नगरकोट सडक निर्माणको जिम्मेवारी लिएको शैलुङ कन्ट्रक्शन प्रालीले सडक निर्माणको काम तीब्र गतिमा अघि बढिरहेको बताएको छ । कम्पनीका मेनेजर विनोद अधिकारीका अनुसार आगामी जेठ महिनासम्म उक्त सडकको काम पुरै सकिने भएको छ । निर्माण कम्पनीले काम तीब्र रुपमा अघि बढाउन खोजेपनि स्थानीय टोलेडनहरुको चलखेल र अबरोध तथा धम्कीका कारण निर्माणमा ढिलासुस्ती भएको अधिकारीले जानकारी दिए ।
शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिले १६ किमी सडक निर्माण गर्न म्याद थप गरेको जानकारी दिदैं मेनेजर अधिकारीले आगामी जेठसम्म सडक निर्माण पुरा गर्ने योजना रहेको बताए । अहिलेसम्म उक्त सडक निर्माणमा १८ करोड खर्च भैसकेको छ । आधाभन्दा बढी रकम खर्च हुँदा पनि टोलेडनका रुपमा चिनिन खोज्ने जगत लामाको समूहले धम्की दिने, काममा अबरोध गर्ने गरेको कारण आधा काम हुन नसकेको शैलुङका साईड इञ्चार्ज प्रकाश लामिछानेले बताएका छन् ।
लामाको समूहले पटक पटक सडक मर्मतमा लागिरहेका मजदुरलार्ई समेत ज्यान मार्ने धम्की दिएको बताउँदै आफूहरुले ज्यान सुरक्षाका लागि भक्तपुर प्रहरीमा निवेदन समेत दिएको लामिछानेले जानकारी दिए । भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्म जाने सडकका बिचमा भएका खाल्डाखुल्डीले सवारी दुर्घटना समेत बढाएको छ । यस सडकमा चालक मात्र नभई पैदल यात्रुलाई समेत सास्ती भैरहेको छ । सडकमा देखिएका यी खाल्डाखुल्डी मर्मत गर्ने तथा सडक सुधारको गतिलाई तीब्र पार्ने तर्फ कसैको ध्यान जान नसकेको खरिपाटीका स्थानीय बताउँछन् ।
सडक मर्मतका लागि भनेर खनिएका खाल्डाखुल्डी पुर्ने काम समेत निर्माणको जिम्मा लिएका निकायले गर्न चासो नदेखाएको स्थानीयको गुनासो छ । तीन बर्षअघि विस्तार थालिएको कमलविनायकदेखि भत्केकोपाटी हुँदै नगरकोट खण्डको करिब १६ किलोमिटर मुख्य सडक विस्तारमा अझैपनि ढिलाई भएको छ । निर्माण कम्पनीको लापरवाही मात्र नभई चाँगुनारायण नगरपालिकाले समेत उक्त सडक तत्काल निर्माण तथा मर्मत र सुधारमा चासो देखाएको छैन् ।
घाम लाग्दा धुलाम्मे र पानी पर्दा सडक हिलाम्मे हुने हुँदा सडक छेउछाउका बासीन्दाको सवास्थ्यमा समेत असर पर्दै आएको स्थानीय बताउँछन् ।
स्थानीय तहको निर्वाचनका बेला भोट बैंकका रुपमा रहेको उक्त सडक विस्तारमा अहिले चाँगुनारायण नगरपालिकाका नगर प्रतिनिधीको समेत उक्त सडकमा ध्यान जान नसकेको स्थानीयको गुनासो छ । एक्जिम बैंक इन्डियाको सहयोगमा करिब २८ करोडको लागतमा विस्तार थालिएको उक्त सडकको निर्माण आर्थिक वर्ष ०७२÷७३ भित्र सक्ने लक्ष्य रहेपनि यसअघि भूकम्पको कारण ठेकेदारले २०७४ मंसिरसम्म पुरा गर्ने सम्झौता अनुसार म्याद थप गरिएको थियो । सडक विस्तारमा निर्माण कम्पनीले तीब्रता दिएपनि विद्युत प्राधिकरण र नेपाल टेलिकमको पोल नहटाउँदा निर्माणमा केही समस्या भैरहेको छ ।