मध्यपुर थिमिमा पास हुन नसकेको नक्सा पास श्रावण १६ बाट पास हुने
भक्तपुर । नक्सा पास समस्या झेल्दै आएको मध्यपुर थिमी नगरपालिकाले श्रावण १६ गतेदेखि नक्सा पास हुन नसकेको घरको नक्सा पास गरिदिने भएको छ । नगरपालिकामा जनप्रतिनिधिहरुको आगमनसँगै नगरकार्यपालिकाको बैठकले श्रावण १६ गतेवाट एक महिनाका लागि नगरक्षेत्र भित्र नक्सा नै पास नगरि निर्माण भइसकेका घरहरुको नक्सा पास गरिदिने निर्णय गरेको हो ।
जनप्रतिनिधि नभएको समयमा र नक्सा पासको सुबिधा नभएको समयमा मध्यपुर नगरपालिकाभित्र मात्रै नक्सा नै नभएका घर संख्या ७ सयको हाराहारीमा रहेका छन । त्यस्तै निर्माण सम्पन्न भएका तर नक्सा पास हुन नसकेका घरको सख्यां ५ सय भन्दा वढी रहेको नगपालिकाले जानकारी दिएको छ ।
नक्सा पास नगरि घर निर्माण गरेकाहरुलाई थप जरिवाना लिएर नक्साको स्विकृति दिने भएको हो । नक्सा पास नभई बनेको भवनको प्रति स्क्वार फिट १० रुपैयाँ देखि ३० रुपैयाँ सम्म शुल्क लिएर नक्सा पास गर्ने व्यवस्था मिलाएको नगर प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।
उनले मध्यपुर थिमि नगरपालिकासँग स्वीकृत नलिई जग्गा प्लटिंग गरेका क्षेत्रमा निर्माण भएका तर नक्सा पास नभएको अवस्थालाई मध्यनजर गर्दै सो क्षेत्रका स्थानियहरुको भवन भत्काउने काम गर्नु उपयुक्त नभएकाले नक्सा जरिवना तिराएर भए पनि नक्सा पासमा खुकुलो पारिएको बताए ।
प्लटिंग क्षेत्रमा चाहिने आवश्यक भौतिक पुर्वाधार निर्माण नै नगरि जसरी जग्गा बिक्रि बितरण गरिएको थियो सो क्षेत्रमा निर्माण भएका घरका घरधनी आफैले सम्पूर्ण मापदण्डको पालना गर्नु पर्ने शर्तका साथ नक्सा पासमा खुकुलो पारिएको प्रमुख श्रेष्ठको बताए ।
बिगतमा नगरका बिभिन्न स्थानमा रोकिएको नक्सा पास खुकुलो पारिएता पनि अहिले हरियालि क्षेत्र, स्मार्ट सिटी र स्याटलाईट सिटि क्षेत्रमा पर्ने जग्गामा भने घर निर्माण लागि नक्सा पास रोकिने छ ।