ढुंगेधाराको अस्तित्व नै धरापमा
भक्तपुर । ऐतिहासिक महत्वका मल्लकालीन ढुंगेधारा संरक्षणको अभावमा संकटमा पर्दै गएका छन् । ढुंगेधारा मासिने क्रम एक दशकदेखि नै जारी रहे पनि यतिबेला भक्तपुरमा रहेका मल्लकालीन ढुंगेधाराको अस्तित्व नै संकटमा परेको हो । यसको संरक्षण गर्ने सरकारी निकायको उदासीनता, सार्वजनिक जग्गा तथा सम्पदामाथिको अतिक्रमण र तीव्र अव्यवस्थित बस्ती विकासका कारण ऐतिहासिक महत्वका ढुंगेधारा मासिँदै जान थालेको भक्तपुरका जानकारहरु बताउँछन् ।
सरकारले पानी उपभोगका लागि ढुंगेधारा तथा मुहान संरक्षण घोषणापत्र २०६४ जारी गरे पनि कार्यान्वयनमा नआउँदा ढुंगेधारा संरक्षण हुन नसकेको संस्कृतबिद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताए । तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री हिसिला यमीसहित ऐतिहासिक तथा मुहान संरक्षण संघ, सहरी खानेपानी र सरसफाइका लागि गैसस मञ्च, काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, कीर्तिपुर, मध्यपुर थिमी र भक्तपुर नगरपालिकाले आजभन्दा नौ वर्षअघि १२ बुँदे घोषणपत्र जारी गरी ढुंगेधारा संरक्षणमा जुट्ने प्रतिबद्धता जनाएका थिए । तर ती प्रतिबद्धता अहिलेसम्म पनि कार्यान्वयनमा आउन सकेका छैनन् ।