नागपञ्चमीसँगै रक्षाबन्धन आज मनाइदै

भक्तपुर न्यूज

१३ साउन २०७४ ५:५४

नागपञ्चमीसँगै रक्षाबन्धन आज मनाइदै

भक्तपुर १३ साउन। साउन शुक्लपञ्चमीका दिन मनाइने नागपञ्चमी हिन्दू धर्मावलम्बीले आज घरघरमा नागको चित्र तथा तस्बिर टाँसेर मनाइदै छ । बिहानै स्नान गरी पवित्र भई नागको चित्र वा मूर्तिलाई गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दूर, चन्दन आदिले पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरको ढोकामा टाँसेपछि आगलागी, चट्याङजस्ता विपद्बाट सुरक्षित रहिने जनविश्वास छ ।

प्रत्येक वर्ष नागपञ्चमीका दिन नागलाई देवताको रूपमा पूजा गर्ने प्रचलन हिन्दू धर्मशास्त्रमा छ । नागपञ्चमी पर्व कहिलेबाट कसरी मनाउन सुरु भएको भन्नेबारेमा यकिनका साथ भन्न नसकिए पनि विभिन्न कथा तथा किंवदन्ती रहेको छ । त्यसै गरि आजै साउन शुक्ल पूर्णिमाका दिन चन्द्रग्रहण परेकाले ऋषि तर्पणी एवम् जनैपूर्णीमा पनि आजै मनाइँदैछ । साउन २३ गते शुक्ल पूर्णिमाका दिन राति १२ बजेअघि चन्द्र ग्रहण सुरु हुने भएकाले शास्त्रीय प्रमाणका आधारमा शुक्ल पञ्चमीमै यो पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । साउन २३ गते सोमबार राति ११ बजेर ७ मिनेटमा खण्डग्रास चन्द्र ग्रहणले स्पर्श गर्नेछ । ग्रहणको मध्यराति १२ बजेर ६ मिनेटमा र मोक्ष राति १ बजेर चार मिनेटमा हुने समितिले जानकारी दिएको छ ।

पूर्णिमाका दिन ग्रहण परी पर्व मनाउन नहुने अवस्थामा पञ्चमीकै दिन मनाउन सकिने व्यवस्था हेमाद्री, वीर मित्रोदय र निर्णय सिन्धुलगायत ग्रन्थमा छ, यसैले शास्त्रीय प्रमाणका आधारमा यो निर्णय गरिएको समितिले जनाएको हो । यसअघि २०२८ सालमा पनि पूर्णिमाका दिन चन्द्र ग्रहण परेपछि नागपञ्चमीकै दिन रक्षाबन्धन र ऋषि तर्पणी पर्व मनाइएको हो । हिन्दु धर्मावलम्बीहरुले यज्ञोपवित तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाउने गर्दछन् । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ । विधिपूर्वक जनै मन्त्रन यजमानहरू बिहान सबेरै आ–आफ्ना गुरु पुरोहितकहाँ जाने गर्दछन् ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग रक्षाबन्धनको सम्बन्ध जोडिएको छ । हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणीपूर्णीमाका दिन अध्यायोपा कर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसैदिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म सूर्यबाट वेद प्राप्त गरेको धार्मिक विश्वास छ । आजको दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ ।
वैदिक सनातन वर्णाश्रमधर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी पवित्र जलले स्नान गर्ने गर्दछन् ।

हिन्दुधर्मका वैदिकग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । हिन्दुग्रन्थअनुसार देह शुद्ध गरी देवता, सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।
ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्रकार्य सपन्न गर्ने गर्दछन् ।
रक्षा बन्धनका क्रममा ‘येन बद्धो वलिःराजा दानवेन्द्रो महावलः तेन त्वां प्रतिबध्नामि रक्ष माःचल माचल’ भन्ने मन्त्राचारण गर्ने गर्दछन् । यस मन्त्रोचारणको अर्थ जसरी सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई बचाउन गुरु वृहस्पतिले रक्षाविधान गरी तयार गरेको रक्षाबन्धनबाट अत्यन्त वलशाली दानवराज वलिलाई बाँधेका थिए, त्यसरी नै म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भन्ने बुझिन्छ । दानवी शक्तिबाट रक्षित हुनका लागि आजैका दिन रक्षाबन्धन वा हातेडोरो बाँध्ने गरिएको किवंदन्ती छ । जनैपूणिर्माको दिन बाँधिएको रक्षाबन्धन गाईतिहारका दिन गाईको पुच्छरमा बाँधि दिएमा मृत्युपछि वैतरणी नदी सजिलै पार हुने विश्वास गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *