टीआरसी विधेयक फागुन १९ गतेभित्र टुंगो लगाउने कांग्रेसको प्रस्ताव

भक्तपुर न्यूज

११ फागुन २०८० ९:२८

टीआरसी विधेयक फागुन १९ गतेभित्र टुंगो लगाउने कांग्रेसको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालिन न्याय सम्बन्धी विधेयक एक हप्ता भित्र टुंगोमा पुर्‍याउने गरी अगाडि बढ्ने प्रस्ताव राखेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।

‘मैले आज अनुरोध गरेँ- एउटा मिति तोकौं । त्यो मिति आज ११ गते हो । त्यो मिति १५ गते पनि हुन सक्छ । अलि बढि चाहियो भने पनि १८, १९ गते भन्दा उता नजाने गरी मिति तोकौं । यो एक हप्ता, ४ दिन, छ दिन जति हुन्छ । फेरि सहमतिको बल गरौं र टुंगो लगाऔं’ कांग्रेसका प्रमुख सचेतक लेखकले भनेका छन् ।

केही विषयमा कसैगरी सहमति नजुटे संसदीय प्रक्रियामा लगेर संक्रमणकालिन न्याय टुंगो लगाउने कुरामा अब ढिलाई गर्न नहुने उनको भनाइ छ ।

‘पीडितहरुको पनि पीडाको विषय छ । त्यसकारण यो संक्रपमणकालिन न्यायका बारेमा एउटा तिथिमिति तोकिदिउँ । कति हुन्छ, कहिले हुन्छ ? एउटा तिथि तोकौं’ प्रमुख सचेतक लेखकले दोहोर्‍याएका छन् ।

सञ्चार माध्यमले पनि यसलाई ढिलो गर्ने कुरालाई राम्रो रुपमा नलिएको, आम नागरिक समाज, आम नागरिकहरुको बीचमा आयोचनाको विषय हुन थालेको उल्लेख गर्दै उनले समय नै तोकेर अगाडि बढाउने प्रस्ताव गरेका हुन् ।

‘अब यसलाई सहमति गरौं, भएन भने प्रक्रियामा लगेर भएपनि कुनै एउटा मिति तोकेर यसलाई टुंग्याइदिउँ भन्ने मेरो गम्भिरतापूर्वक आग्रह छ’ उनले भनेका छन् । टीआरसी कानुन न्याय तथा मानव अधिकार समितिमा दफावार छलफलमा छ ।

प्रकाशित मितिः २०८० फागुन ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय