पोखरामा मेयर आचार्यले गरे झन्डापार्कको उद्घाटन, पर्यटकीय गन्तव्य बन्ने अपेक्षा

भक्तपुर न्यूज

७ फागुन २०८० ११:४८

पोखरामा मेयर आचार्यले गरे झन्डापार्कको उद्घाटन, पर्यटकीय गन्तव्य बन्ने अपेक्षा

काठमाडौं । पोखरा महानगरका मेयर धनराज आचार्यले पुस्तकालय भत्काएर बनाएको झण्डापार्कको सोमबार उद्घाटन गरेका छन्। पोखरा सार्वजनिक पुस्तकालय भवनमा डोजर लगाएर मेयर अचार्यले झण्डापार्क बनाउन लायन्स क्लबलाई जम्मा दिएका थिए। क्लबको पोखरास्थित ५ वटा डिष्ट्रिकले ७० लाख रूपैयाँ खर्च गरेर झण्डा पार्क बनाएको जनाएको छ।

झण्डापार्कमा संयुक्त राष्ट्र संघमा आवद्ध देशहरूका झण्डा राखिएका छन्। यी देशहरूका बीचमा लायन्स क्लब इन्टरनेशनलको झण्डा पनि राखेका छन्। पुस्तकालयमा रहेका १२ हजार बढी पुस्तक भने पोखरा नयाँ बजारमा रहेको क्षेत्री समाजको भवनमा लगेर राखिएको छ।

पोखरा महानगरको २०७९ पुष १९ गते बसेको ८ औं कार्यपालिका बैठकले पुस्तकालय भत्काएर झण्डा पार्क बनाउने निर्णय गरेको थियो। उक्त निर्णयमा लायन्स क्लबलाई झण्डा पार्क बनाउन दिने निर्णय भने भएको थियो। मेयर आचार्यले बिना टेण्डर एकल निर्णयका आधारमा लान्यन्स क्लबलाई झण्डा पार्क बनाउन दिएका थिए।

पार्कको उद्घाटन गर्दै मेयर आचार्यले विश्वभरका झण्डा राखिएपछि महेन्द्रपुल पर्यटकीय गन्तव्य बनेको दाबी गरे। पोखरा आउने विभिन्न देशका पर्यटकले आफ्नो देशको झण्डामुनि बसेर फोटो खिच्ने उनको जिकिर छ।

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले लायन्स क्लबले झण्डा पार्क बनाएर राम्रो काम गरेको बताए। आफ्नो परिवारका सबै सदस्य लायन्स क्लबमा आवद्ध भएको भन्दै उनले झण्डा पार्क बनाएपछि आफू खुसी भएको बताए।

महानगरका मेयर आचार्यले झण्डा पार्क बनाउन पुस्तकालय भवनसँगै पोखरा आर्ट ग्यालरीमा पनि डोजर चलाएका थिए। आर्ट ग्यालरीमा डोजर चलाउँदा पोखराको सिर्जनशील कलाकार समूहले ‘अनन्त रेखाहरू’ शीर्षकमा चित्रकला प्रदर्शनी गरिरहेका थिए। प्रदर्शनी नसकिँदै मेयर ग्यालरीमा डोजर चलेको थियो।

आर्ट ग्यालरी र पुस्तकालय भत्काएसँगै मेयर आचार्यले पृथ्वीचोकमा पुस्तकालय र आर्ट ग्यालरी बनाउने बताउँदै आएका छन्। कलाकारहरुले भने पृथ्वीचोकको कोलाहलमा आर्ट ग्यालरी र पुस्तकालय चल्न नसक्ने भन्दै शान्त र एकान्त पार्कमा बनाउन आग्रह गर्दै आएका छन्।

प्रकाशित मितिः २०८० फागुन ०७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *