भक्तपुरमा पर्यटकबाट दोब्बर आम्दानी

भक्तपुर न्यूज

१२ साउन २०७४ २:२१

भक्तपुरमा पर्यटकबाट दोब्बर आम्दानी

भक्तपुर, १२ साउन । भक्तपुर भ्रमण गर्ने पर्यटकबाट उठ्ने शुल्क आर्थिक वर्ष ०७२÷७३ भन्दा आव ०७३÷७४ मा दोब्बरले वृद्धि भएको छ । भक्तपुर नगरपालिकाका पर्यटन अधिकृत गौतमप्रसाद लासिवाले गएको आव पर्यटन सेवा शुल्कबाट नपाले १९ करोड ९५ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिए । आव ०७२÷७३ मा भने १० करोड ९२ लाख ७५ हजार रुपैयाँ मात्रै आम्दानी भएको थियो ।

भक्तपुर नगरपालिकाका अनुसार आव ०७२÷७३ मा ९५ हजार ५६ जना बाह्य पर्यटक भक्तपुर पुगेका थिए । गएको आर्थिक वर्षमा भने १ लाख ८१ हजार ३ सय ५० जना पर्यटक भक्तपुर नगर पुगेका हुन् जुन ९० दशमलव ७८ प्रतिशतले वृद्धि हो ।नगरपालिकाले भक्तपुर नगर प्रवेश गर्ने पर्यटकसँग करिब १४ वटा नाकाबाट शुल्क उठाउँदै आएको छ । नगरपालिकाले चीनसहित दक्षिण एसियाली मुलुकका पर्यटकहरूसँग प्रतिव्यक्ति ५ सय रुपैयाँ शुल्क लिँदै आएको छ ।

भक्तपुर भ्रमण गर्ने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । यो वर्ष ९० दशमलव ७८ प्रतिशतले जिल्लाको भ्रमण गरेका छन् । ०७२ वैशाख १२ र त्यसपछिका परकम्पले ठप्प हुन पुगेको भक्तपुरको पर्यटन पछिल्लो समय आशालाग्दो भएको हो ।पर्यटन सेवा शुल्क भक्तपुर नपाको आन्तरिक आम्दानीको प्रमुख स्रोत हो । पर्यटन सेवा शुल्कवापत उठेको रकमबाट नै ६ वटा कलेजको सञ्चालनसँगै सम्पदा संरक्षण गर्दै आएको नगरपालिकाको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *