‘अभ्यास शान्ति प्रयास’ को तालिममा नेपालसहित १९ देशका सैनिकहरूको सहभागिता रहने

भक्तपुर न्यूज

७ फागुन २०८० ६:४२

‘अभ्यास शान्ति प्रयास’ को तालिममा नेपालसहित १९ देशका सैनिकहरूको सहभागिता रहने

काठमाडौं । अमेरिकी सरकारको ‘ग्लोबल पिस अपरेसन ईनीसीएटीभ्स’को सहयोग एवं नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा नेपालमा संयुक्त सैन्य अभ्यास हुने भएको छ । संयुक्त सैन्य अभ्यास काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आयोजना हुने नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार संयुक्त सैन्य अभ्यास फागुन ८ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ ।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा सहभागी हुने फौजको पेसगत दक्षता, आपसी समन्वयत्मक क्षमता अभिवृद्धि र शान्ति सेनामा सेना पठाउने राष्ट्रहरूबीच अन्तर्क्रिया बढाउने उद्देश्यले संयुक्त सैन्य अभ्यासको आयोजना गर्न लागिएको हो । संयुक्त सैन्य अभ्यासको नाम ‘अभ्यास शान्ति प्रयास’ दिइएको छ । यो अभ्यास शान्ति प्रयासको चौथो संस्करण हो ।

नेपालमा सन् २००० मा पहिलोपटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो । यस्तै, सन् २०१३ र सन् २०१७ मा यस अभ्यासका दोस्रो तथा तेस्रो संस्करण सञ्चालन भइसकेका छन् । फागुन ८ गतेबाट सञ्चालन हुन लागेको अभ्यास शान्ति प्रयासमा नेपालसहित १९ देशका एक हजार १२५ सैनिकहरूको सहभागिता रहने नेपाली सेनाले जनाएको छ ।

“यस प्रकारको अभ्यासबाट शान्ति स्थापना कार्यमा देखा परेका चुनौतीहरूको बारेमा सहभागी राष्ट्रका सैनिकहरू अवगत हुनुको साथै ती चुनौतीहरू सामना गर्न आवश्यक क्षमता एवं समान व्यावसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने विश्वास लिइएको छ,” नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मितिः २०८० फागुन ०७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *